काठमाडौं । नेकपा (एमाले) मा आस्थावान पत्रकारहरुको संगठन प्रेस चौतारीका केन्द्रीय सदस्य समिर बलामीमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।
पाँच वर्षअघि सहकर्मीमाथि यौन दुर्व्यवहार गरेको आरोप बलामी माथि लागेको हो । उहाँ चलचित्र पत्रकार संघ नेपालका महासचिव र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का सचिवसमेत हुनुहुन्छ । २०७३ फागुन २५ गते चलचित्र पत्रकार संघको चुनावमा सकिएर एक महिला पत्रकारलाई रात परेकोले भक्तपुर घरमा पुर्याइदिने भन्दै बलामीले बागबजारको एक होटलमा लगेर यौन दुर्व्यवहार गरेको आरोप लगाइएको छ ।
बलामीले आफूमाथिको आरोप सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि सहज होस भन्दै चलचित्र पत्रकार संघको महासचिव पदबाट बिहीबार राजीनामा दिएको उक्त संस्ठाका अध्यक्ष दिनेश सिटौलाले विज्ञप्तिमार्फत जानकारी दिनुभयो । उहाँका अनुसार महासचिव बलामीले दिएको राजीनामा चलचित्र पत्रकार संघको केन्द्रीय समितिको आकस्मिक बैठकले स्वीकृत गरेको हो ।
पत्रकार बलामीले पाँच वर्षअघि यौन दुर्व्यवहार गरेको घटना जेठ २३ गते पीडित पत्रकारले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी हुन् । जेठ ७ गते चलचित्र पत्रकार संघ नेपालले 'चलचित्र पत्रकारिता सम्मान र पुरस्कार’ घोषणा गर्दा इकान्तिपुर डटकममा कार्यरत रीना मोक्तानको नाम पनि परेको थियो । पत्रकार मोक्तानले जेठ २३ गते आधिकारिकरुपमा पुरस्कार पाउने सूचीमा आफ्नो नाम समावेश गरेकोमा आयोजक धन्यवाद दिनुहुँदै पुरस्कार नभने नलिने घोषणा गर्नुभयो । पुरस्कार निर्णायक मण्डलमा आफूमाथि यौन दुर्व्यहार गर्ने चलिचत्र पत्रकार संघका महासचिव समिर बलामीसमेत सहभागी भएकोले पुरस्कार नलिने निष्कर्षमा पुगेको मोक्तानले स्टाटस्मा उल्लेख गर्नुभएको छ ।
'गत जेठ ७ गते चलचित्र पत्रकार संघ नेपालले 'चलचित्र पत्रकारिता सम्मान र पुरस्कार’ घोषणा गरेको थियो, पुरस्कार पाउनेको सूचीमा मेरो नाम पनि परेकाले खुसी भएँ । मेरो कामको मूल्यांकन गरिदिएकोमा धन्यवाद । तर, घोषणा भएदेखि नै पुरस्कार लिने कि नलिने भन्ने दुविधाले मलाई सताइरह्यो । घोषणासँगै पुरस्कारका आयोजक कमिटीका एक पदाधिकारीले करिब पाँच वर्षअघि गरेको यौन दुर्व्यवहारको घटना ताजा बनाइदियो । ममाथि यौन दुर्व्यवहार गर्ने व्यक्ति संलग्न निर्णायक मण्डलबाट पुरस्कार नलिने निर्णय गरेकी छु,' मोक्तानले लेख्नुभएको थियो । घोषित पुरस्कार चलचित्र पत्रकार संघले यही असार ४ मा वितरण गर्दैछ ।
घटना यस्तो थियो [पीडितकै भाषामा]
२०७३, फागुन २५ गते चलचित्र पत्रकार संघको चुनाव थियो । भर्खरै रेडियोबाट युट्युबतिर लागेको थिएँ म । फिल्म क्षेत्रको रिपोर्टिङमा एकदमै नयाँ; त्यसमाथि चुनाव पनि नयाँ । चुनावी माहोलमा घुलमिल हुन त्यतिबेला साथी आशीष ओली र एक जना पत्रकार दाइ (पीडक) ले गाइड गरिरहेका थिए । हामीले समर्थन गरेका व्यक्ति एकै थिए, त्यसैले पनि ती दाइ हामीसँग चुनावको समयदेखि नजिकिएका थिए । त्यस दिन उनी पनि सचिवमा निर्विरोध चुनिए ।
‘चुनावको नतिजा सुनेरै घर फर्कनू । बरु ढिला भए घर पुर्याइदिऊँला‚’ उनले यति भनेपछि, म मतपरिणाम कुरेर बसें । चुनाव सकिँदा रातको ९:३० नाघिसकेको थियो । उनले घर पुर्याइदिन्छु भन्दै स्कुटर निकाले । सँगैका आशिषले ढुक्कले मलाई बिदाइ गरे । स्कुटर बानेश्वरको अर्याल होटलबाट भक्तपुरतर्फ गुड्यो ।
कोटेश्वरमा पुगेपछि, उनले‚ ‘तिम्रो घर त टाढा रहेछ । स्कुटरको पेट्रोल सकिन लाग्यो । तिमी मेरो घरमा बस्नू, भाउजू सँगै भइहाल्नुहुन्छ‚’ भने । उनको गर्लफ्रेन्डलाई हामी त्यतिबेला भाउजु भन्थ्यौं । निकै राति भइसकेको थियो । मैले पनि 'भाउजू'सँग बस्नु ठीक ठानें । ट्याक्सी चढेर घर जान्छु भनेको थिएँ तर उनले मलाई बारम्बार भाउजुको नाम लिएर कन्भिन्स गर्न खोजे; अरु विकल्प पनि थिएन । स्कुटर फर्काएर बानेश्वर हुँदै अनामनगरतर्फ मोडियो । अनामनगर पुग्दै गर्दा उनले मलाई ‘अबेर भइसकेकाले परिवार सबै सुतिसकेको हुन सक्ने र ढोका बन्द हुने बताउँदै हनुमानस्थान नजिकैको एउटा होटलमा पुर्याइदिएर आफू घर फर्किने बताए । अर्काको घर गइरहनुभन्दा होटलमै बस्नु सजिलो लाग्यो; मैले ‘हस्’ भने । हनुमानस्थानको होटलमा कोठा नपाएपछि उनले मलाई पुतलीसडकको एउटा होटलमा लगे ।
उनले चोकैपिच्छे कुरा बनाउँदै हिँडेकाले मनमा शंका नउब्जिएको पनि होइन तर दाइ ठानेकाले पनि सुरक्षित ठाउँमै छाडिदेलान् भन्ने विश्वास भने थियो । उनले मलाई ‘रत्नराज्यलक्ष्मी क्याम्पस’ को पछाडिपट्टिको ‘कान्तिपुर होटल’ लगे । त्यसपछि उनले रिसेप्सनमा गएर दुईवटा चाउचाउ र पानी किनिदिए । रजिस्ट्रेसनमा आफ्नो नाम पनि टिपाएजस्तो लाग्छ । त्यसपछि म ढुक्क भएँ; सुरक्षित महसुस गरें । तर‚ त्यसपछि होटल सञ्चालकसँग चाबी मागेर उनी सरासर ‘बहिनीको रुम कस्तो छ म हेरेर जान्छु’ भनेर उक्लन थाले । अनि मन चिसो भयो ।
एकछिनअघिको सुरक्षाभाव क्षणभरमै अत्यासमा बदलियो । कोठामा प्रवेश गरेपछि एकछिन आराम गरेर ‘फर्कन्छु’ भन्दै उनी पलङमा पल्टिएपछि मन आत्तिन थाल्यो । मैले अवस्थालाई सामान्य बनाउन अनुहारमा डर झल्कन दिइनँ । अर्को पलङमा बसेर चाउचाउ खाने कोसिस गरें तर घाँटी अड्किरहेको थियो । उनी पलङको भित्तामा अडेस लागेर ढल्किए । दिमागमा अनेकथरि कुरा खेल्न थाल्यो; म एकोहोरिएछु । ‘बहिनी मेरो छेउमा बसेर चाउचाउ खाऊ’ भन्दा पो झल्याँस्स भएँ । दिमागले केही सोच्नै सकिरहेको थिएन । ‘दाइसँग डराको ?’ भन्न थालेपछि म छेउमा गएर चाउचाउ खान थालें । म निकै आँत्तिएकी थिएँ । त्यतिकैमा उनले मेरो कम्मर समाए । ‘दाइ मलाई यस्तो मन पर्दैन,’ डरले काँप्दै भनेँ ।
‘केही गर्दिनँ’ भन्दै फेरि कम्मरमा हात लगे; मैले हात झट्कारिदिएँ । रुन थालें; त्यसपछि उनी अलिकति डराए । म जोडले रुन खोज्थें तर आवाज भित्रै दबिन्थ्यो । त्यसपछि म अर्को पलङमा बसेर रुन थालें; शरीर लगलग काँपिरह्यो । आफूले दाइ मानेको व्यक्तिले यस्तो गर्लान् भनेर एक प्रतिशत पनि लागेको थिएन । उनलाई विश्वास गरेर होटलसम्म पुगेकोमा आफैंलाई दोषी ठानिरहेँ; पछुताइरहें; रोइरहें । आमाको याद आयो, साथी आशिषलाई सम्झें । फोन गरुँ; फोनमा चार्ज थिएन । रुनबाहेक गर्न केही सकिनँ । त्यतिन्जेलमा उनी निदाए ।
त्यतिबेलै भाग्ने सोचेको पनि हो तर ढोकाको आवाजले ब्युँझिएर जबरजस्ती नै गर्ने हो कि भन्ने लाग्यो । मलाई कतिखेर उज्यालो होला भन्ने भइरह्यो । त्यतिबेला १२/१ बजेको हुँदो हो । मध्यरातसम्म रोएरै बसें । बिहान ३/४ बजेपछि मानिसहरूको चहलपल बढेसँगै विक्षिप्त मानसिकतामै घर पुगें ।