नुवाकोट । जिल्लाको पञ्चकन्या गाउँपालिकाको केन्द्र लाकुरीभन्ज्याङ-घलेभन्ज्याङ जोडिएको छहरे-राष्ट्रिय मावि सडक धमाधम कालोपत्रे भइरहेको छ ।
वाग्मती प्रदेश र पञ्चकन्या गाउँपालिकाबाट आर्थिक वर्ष २०७८/०७९ मा विनियोजित रकमबाट पञ्चकन्या २ मा पर्ने छहरे पुलदेखि गणेशस्थान मन्दिर खण्डमा कालोपत्रे (पिच)को काम जेठ अन्तिम हप्तादेखि जारी रहेको इन्जिनियर उज्ज्वल न्यौपानेले जनकारी दिनुभयो । उहाँका अनुसार साढे २ किलोमिटरको उक्त सडक खण्ड पिचको काम मौसमले साथ दिएमा केही दिनभित्रै सकिने छ । स्थानीय तह निर्वाचनलगायत कारणले पिचको काम ढिला सुरु गर्नुपरेकोले पानीका प्रभावित हुने गरेको छ ।
आव २०७८/०७९ मा प्रदेश सरकारबाट ९९ लाख ९८ हजार र गाउँपालिकाको ९९ लाख ९८ हजार नै बजेट परेको थियो । जसमा गाउँपालिकाले २ करोड ४ लाखमा टेण्डर आह्वान गरेको थियो । जसमा काष्ठमण्डप निर्माण सेवा बल्खुले ढलान, नाली, बेस र 'डीबीएसटी' (कालोपत्रे) का लागि १ करोड ८७ लाख रुपैयाँमा ठेक्का पारेको इन्जिनियर न्यौपाने बताउनुभयो । यस खण्ड निर्माण सम्झौता असार तेस्रो हप्ता सकिनेछ ।
दोस्रो कार्यकालका लागि वैशाख ३० गतेको निर्वाचनबाट निर्वाचित गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले छहरे-राष्ट्रिय मावि-घलेभञ्ज्याङ- आरुखर्क सडकलाई प्राथमिकता दिने बताउँदै आउनुभएको छ । अध्यक्ष तामाङले निर्वाचन घोषणापत्रमा पनि यही आर्थिक वर्षभित्र पिच गरेर देखाइदिने उद्घोष गर्नुभएको थियो ।
छहरे-राष्ट्रिय मावि करिब ७ किलोमिटर रहेको छ । बाँकी खण्ड ३ करोड रुपैयाँबाट सडक विभागले काम गर्नुपर्छ । तर, आर्थिक वर्ष सकिन लाग्दासमेत सडक विभागको कामले तीव्रता पाउन सकेको छैन ।
यसैबीच गाउँपालिकाका इन्जिनियर न्यौपानेले हाललाई वैकल्पिक बाटो नरहेको छहरे-कविलास-घलेभन्जाङको बाटोमा कुनै रोकटोक नरहेको बताउनुभएको छ । पिचको कामका बेला सुरुमा गाडी रोक्नु पर्ने भए पनि विकल्प कुनै बाटो नरहेकोले सकेसम्म जोगाएर यातायात सञ्चालन गर्न दिइएको बताउनुभयो ।
यो सडकखण्डमा पहिलो पिच (कालोपत्रे) गर्न सुरु गरिएकोले राम्रो गर्नुपर्छ भन्ने हिसाबले काम भइरहेको इन्जिनियर न्यौपानेले बताउनुभयो । 'गुणस्तरीय काम भइरहेको छ । प्राय: म आफैं फिल्डमा खटिने गरेको छु । नभ्याएको बेला सब इन्जनियरहरुलाई पठाउँछु । पहिलो पिचको काम भएकोले गुणस्तरमा कम्प्रमाइज्ड गर्ने कुरा आउँदैन ।'
पञ्चकन्या नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रका राष्ट्रिय राजनीतिमा प्रभाव जमाउने नेताहरु रामशरण महत, हितबहादुर तामाङ, प्रकाशशरण महतको गृहपालिका हो । ट्र्याक खुलेको वर्षौंपछि पिच हुँदा स्थानीय बासिन्दामा खुसी छाएको छ ।
भिडियो