कञ्चनपुर । भीमदत्त नगरपालिकाले अघिल्लो कार्यकालको आर्थिक दायित्व र आगामी लक्ष्यसहित आज श्वेतपत्र जारी गरेको छ । नगरपालिकाको दुई दिनपछि बस्ने नगरसभा बैठकको पूर्व सन्ध्यामा नगरपालिकाले श्वेतपत्र जारी गरेको हो ।
श्वेतपत्रमा अघिल्लो कार्यकालको रु ३९ करोड ३३ लाख दायित्व देखिएको छ । त्यसमा रु ३८ करोड ६८ लाख पुँजीगत र रु ६५ लाख ४६ हजार चालु खर्च छ । नगरपालिकाको पुँजीगततर्फ हालसम्मको भुक्तानी गर्न बाँकी रकम नगरपालिकाको प्रशासनिक भवनको सङ्घबाट प्राप्त हुने सम्पूर्ण रकम रु छ करोड ७५ लाखबाहेक कूल पुँजीगत तिर्न बाँकी रकम रु ३८ करोड ६८ लाख ४१ हजार ९९८ रहेको छ ।
चालु दायित्व तिर्न बाँकी रकम रु ६५ लाख ४६ हजार ८४० गरी जम्मा रु ३९ करोड ३३ लाख ८८ हजार ८३८ नगरपालिकाले तिर्नुपर्ने छ । श्वेतपत्रमा बजेट सुनिश्चितता नभएर ठेक्का लगाएको, ठूलो रकम रकमान्तर गरिएको, डिपिआर प्रतिवेदन बनाइएको, आन्तरिक स्रोतले धान्न नसक्ने गरी कर्मचारी भर्ना गरिएको, इन्धन खर्चमा मितव्यतिता अपनाउन नसएिको र ठूलो मात्रामा कोटेशन गरिएको कारणबाट दायित्व बढेको उल्लेख गरिएको छ ।
दायित्वलाई सङ्घ र प्रदेश सरकारसित पहल गरी घटाउने जाने नगरपालिकाको योजना छ । आन्तरिक स्रोतले मात्रै धान्न नसकिने भएकाले माथिल्लो सरकारसित पहल गरी आवश्यक निर्माणका कार्य सञ्चालन गरिने श्वेतपत्रमा उल्लेख गरिएको छ । अघिल्लो कार्यकालका राम्रा कामलाई निरन्तरता दिँदै जाने, दरबन्दी पुनरावलोकन, भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाइने, सबै वडामा सेवाग्राहीलाई सहज रुपमा सेवा सुविधा दिने र नगरपालिका भित्र हुने अनियमिततालाई छानबिनको दायरामा ल्याएर सुशासन कायम गर्ने श्वेतपत्रमा उल्लेख गरिएको छ ।
नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्काले वर्तमान जनप्रतिनिधिले नगरपालिकाको जिम्मेवारी सम्हाल्दा अघिल्लो कार्यकालका गरिएका गतिविधि नगरवासीलाई जानकारी गराउन श्वेतपत्र जारी गरिएको बताउनुभयो । “नगरपालिकामा आएर कार्यकाल सम्हाल्दा केकस्ता अवस्था थिए, त्यसको जानकारी गराउन यो श्वेतपत्र जारी गरिएको हो”, उहाँले भन्नुभयो, “दायित्व नतिर्ने भन्ने हुँदैन, तिर्छाँै, त्यसका लागि सङ्घ र प्रदेशसित पनि समन्वय र पहल गर्छौँ ।”
श्वेतपत्रमा सेवा प्रवाहमा लापरबाही गर्ने कर्मचारीलाई कारबाही गर्ने घोषणा गरेको छ । भीमदत्तले जारी गरेको श्वेतपत्रमा सेवाग्राहीलाई झन्झट गरी नियतवश दुःख दिने कर्मचारीलाई नियमानुसार कारबाही गर्ने घोषणा गरिएको छ । कर्मचारीको लापरबाहीका गुनासोका लागि हेल्प डेस्क, टोल फ्रि नम्बर र उजुरी पेटिका व्यवस्था गरिने श्वेतपत्रमा उल्लेख गरिएको छ ।
श्वेतपत्रको आगामी लक्ष्यमा सबै वडामा सेवा प्रवाहलाई सहज र सरल बनाउने उल्लेख गर्दै लापरबाही गर्ने कर्मचारीलाई कारबाही गरिने उल्लेख गरिएको छ । “कही कतै सेवा प्रवाहमा अनावश्यक झन्झट गरी सेवाग्राहीलाई नियतवश दुःख दिन खोजे सम्बन्धित कर्मचारीलाई नियमानुसार आवश्यक कारबाही गरिनेछ”, श्वेतपत्रमा भनिएको छ, “यसका लागि पालिकामा हेल्प डेस्क, टोल फ्रि नम्बर र उजुरी पेटिकाको व्यवस्था गरिनेछ ।” श्वेतपत्रमा भ्रष्टाचार शून्य सहनशीलताको नीति लिइने उल्लेख गरिएको छ ।
नगरपालिकाको आर्थिक व्ययभार कम गर्न सङ्गठन सर्भेक्षणका अनुसार आवश्यकता र औचित्यको आधारमा दरबन्दी पुनरावलोकन गर्ने उल्लेख गरिएको छ ।