नुवाकोट । जिल्लाको दुप्चेश्वर गाउँपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरिएको छ । बिहीबार गाउँसभाको ११ औं अधिवेशनले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको हो । गाउँसभामा अध्यक्ष शंकरबहादुर थापाले कृषि र पर्यटन, धार्मिक/सांस्कृतिक पर्यटन, सुशासनलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
नीति तथा कार्यक्रममा प्रमुख अतिथिको रुपमा वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ उपस्थित हुनुहुन्थ्यो । गाउँपालिकाले “कृषि संस्कृति, पर्यटन र पूर्वाधार, सन्तुलित विकास दुप्चेश्वरको आधार” भन्ने मूल नारा राखिएको छ । यसै नाराअनुसार नवनिर्वाचित जनप्रतिनिधिले काम गर्नुपर्ने छ । मुख्यगरी दुप्चेश्वरमा २०७९/०८० को नीति तथा कार्यक्रममा कृषि र पर्यटकलाई विशेष प्राथमिकतामा राखिएको छ । कृषि उपजको बजार व्यवस्थापनको लागि हाट बजारको व्यवस्था गरिने नीति तथा कार्यक्रममा रहेको छ । रैथाने बाली/बीउको संरक्षण, उत्पादन र बजारको लागि उचित व्यवस्था गरिने पनि गाउँपालिकाले जनाएको छ ।
यस्तै असला माछा, लोकल खसी, बोका, लोकल कुखुरा, मौरीपालन तथा अन्य अर्गानिक कृषि उपजलाई प्रवर्द्धन गरी पर्यटन व्यवसायमार्फत आयआर्जनमा टेवा पुर्याइने जनाएको छ । साथै बाँझो जमिनलाई उर्वरायुक्त बनाउन विशेष उपज अनुदान कार्यक्रम ल्याइने पनि जनाएको छ । धार्मिक/साँस्कृतिक पर्यटन अन्तर्गत दुप्चेश्वर महादेव मन्दिर बृहत् गुरुयोजना निर्माण गरी कार्यान्वयन गरिने, घ्याङफेदी–गोसाइँकुण्ड केवलकारको संभाव्यता अध्ययन गरी पहल गर्ने रहेकाे छ ।त्यस्तै, दुर्लभ वन्यजन्तु रेडपान्डा संरक्षणका लागि बर्थिङ सेन्टर स्थापना गर्न पहल गरिने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै दुप्चेश्वरका नवनिर्वाचित सरकारले गाउँपालिकाको कार्यक्रममा पारदर्शी बनाउने, गुनासो सुन्ने प्रभावकारी संयन्त्रको व्यवस्था गरी नागरिकलाई प्रशासनको अनुभूति गराउने लगायतको नीति लिएको जनाएको छ ।