सिन्धुली । सुनकोसी गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को दोस्रो गाउँसभाको प्रथम अधिवेशन बिहीबार सम्पन्न भएको छ । गाउँसभामा अध्यक्ष दिपा बोहोरा दाहालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ ।
आ.ब २०७९/८० को नीति तथा कार्यक्रममा सामाजिक विकास नीतिअन्तर्गत स्वास्थ्यतर्फ गाउँपालिका भित्र “सुरक्षित मातृत्व, सुनकोसी गाउँपालिकाको दायित्व” नारासहित नारा कार्यान्वयनका लागि गर्भवती महिलाको स्वास्थ्य परीक्षण र पोषण सामग्री वितरण कार्यक्रमलाई निरन्तरता दिइने तथा गाउँपालिकामार्फत संचालित पोषण कार्यक्रममा पनि सो नारालाई मूल प्रवाहीकरण गर्ने रहेको छ ।
विपन्न परिवारको पहिचान गरी “निःशुल्क स्वास्थ्य बीमा” कार्यक्रम संचालन गरिने छ । साथै एक पालिका एक सामुदायिक अस्पतालको नीतिअनुसार नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आ.व. २०७७/०७८ मा गाउँपालिकाको वडा नं. ३ मा रहेको झागाझोली रातमाटा स्वास्थ्य चौकीको स्तरोन्नती गरी १५ शय्याको अस्पताल निर्माण गर्ने कार्यक्रम प्राप्त भएकोमा उक्त अस्पताल स्तरोन्नतीको डीपीआर निर्माणपछि थप प्रक्रियाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाइएको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यस्तै शिक्षा तर्फ “गुणस्तरीय, जीवनोपयोगी र परिवर्तित परिस्थितिमा समायोजना हुने सभ्य र सक्षम जनशक्ति उत्पादन” भन्ने दुरदृष्टिसहित सुनकोसी गाउँपालिकाद्वारा तयार गरिएको “शिक्षा नीति २०७७”मा भएका कार्यनीतिगत व्यवस्थाहरुको कार्यान्वयनलाई प्राथमिकता प्रदान गरी अवलम्बन गरिने नीति ल्याईने नीति तथा कार्यक्रममा रहेको छ ।
सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यलाई जोड गरिने, बौद्धिक अपांगता भएका विद्यार्थीहरुका लागि गाउँपालिका क्षेत्रभित्र संचालन गरिएको पठनपाठनको व्यवस्थालाई निरन्तरता दिइने, विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा आकर्षित गर्ने नीति रहेको पनि अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छ ।
खानेपानी तथा सरसफाई
खानेपानी तथा सरसफाईतर्फ एक घर एक धारा नीतिलाई अघि सारिएको छ । जसअन्तर्गत सुनकोसी गाउँपालिका भित्रका प्रत्येक घरपरिवारमा स्वच्छ, सफा र पर्याप्त पिउने पानीको ब्यवस्थापनका लागि सुक्दै गएको पानीको मुहान संरक्षण योजनासहित सुनकोसी लिफ्ट खानेपानीको ब्यवस्था गरिने छ । फोहोरलाई मोहरमा रुपान्तरण गर्ने गरी जैविक तथा अजैविक फोहोर व्यवस्थापनका लागि आवश्यक ब्यवस्था गरिने, खानेपानी तथा सरसफाई प्रवर्द्धन एवम् ब्यवस्थापनका लागि गाउँपालिकाले लिइएको नीति तथा कार्यक्रमलाई निरन्तरता दिइने, सुनकोसी गाउँपालिकाभित्र लिफ्ट खानेपानी तथा लिफ्ट सिँचाइको विद्युत् महसुलमा ७५% गाउँपालिकाले किसानहरुलाई राहतस्वरुप अनुदान उपलब्ध गराउँदै आएकोमा त्यसलाई बढाई १००% पुर्याइने नीति प्रस्तुत गरिएको छ ।
खेलकुदतर्फ विद्यालय तहमा विद्यालयस्तरीय, वडास्तरीय तथा गाउँपालिकास्तरीय खेलकुद कार्यक्रम सञ्चालन गर्न विद्यालयहरुलाई प्रोत्साहित गरिने, सुनकोसी गाउँपालिका क्षेत्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुदमा भाग लिने उत्कृष्ट खेलाडी तथा जित हासिल गराउन सहयोग पुर्याउने प्रशिक्षकहरुलाई प्रोत्साहन गर्न पुरस्कार र सम्मानको व्यवस्था मिलाइने नीति लिइने जनाएको छ ।
सामाजिक परिचालनतर्फ लैंगिक तथा घरेलु हिंसा न्यूनिकरण गर्दै हिंसारहित परिवार/समाज निर्माणका लागि मनोसामाजिक परामर्शकर्ताहरुको प्रभावकारी परिचालन गरिने छ । राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा सहयोगी निकायहरुलाई गाउँपालिकाको प्राथमिकता प्राप्त क्षेत्रमा सामाजिक परिचालनको माध्यमबाट सामाजिक विकासमा संलग्न गराउने नीति अवलम्बन गरिने अध्यक्ष बोहोराले बताउनुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक नीतितर्फ सुनकोसी गाउँपालिकाभित्र हुने महिला हिंसा तथा घरेलु हिंसा अन्त्यका लागि सचेतनामूलक कार्यक्रम संचालनका साथै सीप तथा व्यावसायिकता विकासका कार्यक्रमतर्फ उन्मुख गराई आर्थिकरुपमा आत्मनिर्भर हुने अवसर सिर्जना गरिने गाउँपालिकाका अध्यक्ष बोहोराले बताउनुभयो ।
बालबालिकातर्फ सुनकोसी गाउँपालिकालाई बालश्रममुक्त गाउँपालिका बनाउन होटल, कलकारखाना तथा उद्योगमा अनुगमन गरी सुसूचित गराउन व्यवसायी तथा अभिभावकसँग अन्तरक्रिया कार्यक्रम संचालन गरिने, आपतकालीन तथा जोखिममा रहेका बालबालिकाहरुको लागि बालउद्धार कोषमार्फत आर्थिक सहायता उपलब्ध गराइने लगायतका नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।