नुवाकोट । प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङले ककनी गाउँपालिकाका कर्मचारी तथा नवनिर्वाचित जनप्रतिनिधिलाई नागरिकको सेवक भएर काम गर्न निर्देशन दिनुभएको छ । नागरिकको भावना र आवश्यकतालाई ख्याल गर्नुपर्नेमा उहाँको जोड थियो । ककनी गाउँपालिकाको नवौं अधिवेशन, आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा शुक्रबार सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि तामाङले संघीयता हजारौं सहिदको बलिदानले आएको र सहिदको चाहना पनि यही भएको हुँदा निष्पक्ष भएर नागरिकको सेवक गर्न निर्देशन दिनुभएको हो ।
'सिंहदरबारको वरिपरि घुम्ने शासनलाई हटाएर निकै ठूलो संघर्ष र बलिदानीबाट अहिलेको अवस्था प्राप्त गरेका हौं, हाम्रो कल्पना र चाहना पनि यही थियो तर संघीयतालाई विफल बनाउन खोज्ने केही पक्षहरू पनि छन् । सचेत भएर काम गर्न आवश्यक छ,' उहाँले भन्नुभयो ।
नेकपा माओवादी केन्द्र वाग्मती प्रदेशका सहइन्चार्ज समेत रहनुभएका सांसद तामाङले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा गाउँपालिकाको सुशासन, शिक्षा, स्वास्थ्य, मानव अधिकार कस्तो हुने भन्ने विषय विशेष प्राथमिकता रहेको हुँदा त्यसैअनुरूप जनप्रतिनिधि लाग्नु पर्ने बताउनुभयो ।
उहाँले थप्नुभयो, 'नेपाल संघीयताको मोडलमा गएको पाँच वर्ष पूरा भएको भन्दै अहिले यो संरचनालाई कमजोर पार्नको निम्ति अहिले गाउँ गाउँमा सिंहदरबार होइन सिंहहरू आएछन् भन्ने कुराहरु चल्ने गरेको हुँदा जनप्रतिनिधिले यस्ता विषयमा ध्यान दिएर काम गर्नुपर्छ ।' आफ्नो गाउँपालिकाको विकासका कुन विषयवस्तुमा कति बजेट परेको छ भन्ने विषयमा जान्न पाउने अधिकार जनतालाई संविधानले नै प्रदान गरेको हुँदा नागरिकलाई स्पष्ट जानकारी गराउनुपर्ने पनि उहाँले बताउनुभयो ।
कृषिमा आधुनिकीकरण गर्न कृषकको व्यवहारमा परिवर्तन ल्याउने विषयमा केन्द्रित हुन सकेको खण्डमा आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न सकिने भन्दै उहाँले गाउँपालिकाले यस्ता विषयलाई पनि नीति तथा कार्यक्रममा भएको विश्वास व्यक्त गर्नुभयो । धेरै योजनाभन्दा पनि एउटा वार्ड एउटा मुख्य योजना बनाउनुपर्ने र पाँच वर्षमा निर्माण कार्य सम्पन्न गर्ने गरी योजना तर्जुमा गर्नलाई उहाँले गाउँपालिका नेतृत्वलाई सुझाव दिनुभयो ।
साथै उहाँले सबै काम गर्न खोजेको जस्तो तर एउटा पनि योजना पूरा नहुने अवस्था आउनुभन्दा थोरै तर पूरा गर्ने गरी योजना ल्याउन पनि सुझाउनुभयो । पूर्वमन्त्री तामाङले काठमाडौं बालाजु-रानीपौवा र रानीपौवा पीपलटार सडकका लागि आगामी वर्षका लागि बजेट नपारिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “ककनी-काठमाडौं सडक नेपालकै पुराना सडकहरुमध्ये १४/१५ नम्बरमा पर्छ । २०७० सालको बजेटमा १ अर्ब ३४ करोड ७९ लाख बजेट परेको थियो तर अहिले यस सडकलाई केन्द्र सरकारले बेवास्ता गरेको पाइयो र पनि बजेट पार्नको लागि मन्त्रालयलमा छलफल गरिरहेको छु । सकारात्मक कुरा आएको छ,' उहाँको भनाइ थियो, 'यस आर्थिक वर्षमा पनि आन्तरिक छलफलबाट बजेट पर्छ भन्ने आश छ । नभएर आवश्यक परेमा दबाब दिन पनि तयार हुनुपर्छ । सबैजना तयार रहन म आग्रह गर्न चाहन्छु ।' अर्थ मन्त्रालयले कुनै न कुनै उपायबाट बजेट विनियोजन गर्ने आश्वासन दिएको उल्लेख गर्नुहुँदै उहाँले ककनी-रानीपौवा सडक निर्माण गराउन निरन्तर लागीरहने बताउनुभयो ।
'समृद्ध ककनीको आधार : कृषि, पर्यटन र दिगो, पूर्वाधार' भन्ने मूल नाराका साथ गाउँपालिका अध्यक्ष सुमन तामाङले आगामी वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ । अध्यक्ष तामाङले विभिन्न दल र विज्ञहरुसँगको छलफलबाट सुझाव संकलन पछि नीति तथा कार्यक्रम ल्याएको भन्दै नागरिकको हितमै हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले शिक्षा, कृषि, स्वास्थ्य, पर्यटनलाई सूक्ष्म ढंगबाट लिएको र १८१ बुँदा नीति तथा कार्यक्रम समावेश गरिएको बताउनुभयो । ककनी गाउँपालिका रानीपौवा नुवाकोटको अन्तर्राष्ट्रिय स्काउट सभाहलमा आयोजित नवौं गाउँसभामा स्वागत उपाध्यक्ष मिठुमाया तामाङले गर्नु भएको थियो भने कार्यक्रम संचालन प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी शर्माले गर्नुभएको थियो ।