नुवाकोट । बेलकोटगढी नगरपालिकाले शुक्रबार आर्थिक वर्ष २०७९/०८० को लागि ९७ करोड ९६ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शुक्रबार भएको आठौं नगरसभामा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै नगरपालिका उपप्रमुख शिवप्रसाद दाहालले आगामी आर्थिक वर्षको बजेट ९७ करोड ९६ लाख ६० हजार प्रस्तुत गर्नुभएको हो ।
चालुतर्फ २० करोड ७३ लाख रुपैयाँ र पूँजीगततर्फ ४३ करोड ८७ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख शिवप्रसाद दाहालले प्रस्तुत गर्नुभएको बजेटमा उल्लेख गरिएको छ । त्यसअघि नगर प्रमुख जगतबहादुर गुरुङ (तामाङ) ले बेलकोटगढी नगरपालिका नयाँ नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । बजेटमा 'समृद्ध वेलकोटगढीको आधार–स्वास्थ्य, शिक्षा, कृषि एवं पर्यटनसहितको पूर्वाधार' भन्ने मूल नारा तय गरिएको छ ।
बजेटमा पूर्वाधार विकासमा १३ करोड, संस्थागत विकास तथा सृढृढीकरण कार्यक्रमलाई ३ करोड ५० लाख विनियोजन गरिएको उपप्रमुख दाहालले जनाउनुभयो । यस्तै, नगरपालिकाले महिला बालबालिकासम्बन्धी विभिन्न कार्यक्रमको लागि ६० लाख, स्वास्थ्य तथा जनसंख्याको क्षेत्रमा ३ करोड ४५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
युवा तथा खेलकुदतर्फ ३ करोड, कृषि, पशु, सहकारी, घरेलुका लागि ३ करोड बजेट विनियोजन गरिएको छ भने प्रशासनिक खर्च नगरपालिाकाका चालु खर्च १४ करोड विनियोजन गरिएको छ ।
नगरपालिका प्रमुख जगतबहादुर गुरुङले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम नगरसभाले सर्बसम्मत पारित गरेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै नगरप्रमुख गुरुङले नगरभित्रको सबै स्वास्थ्य चौकीमा ल्याब र प्रसूति सेवा विस्तार गरी जेष्ठ नागरिक, द्वन्द्व पीडित, सहिद परिवार र दीर्घ रोगीहरुलाई नि:शुल्क स्वास्थ्य सेवाको विस्तार गरिने बताउनुभएको छ ।