ककनी । नुवाकोटको ककनी गाउँपालिकाले पालिकाको समग्र विकास र समृद्धिका लागि लगानी सम्मेलन आयोजना गर्ने भएको छ ।
पर्यटकीय क्षेत्र ककनीलाई कृषि, पर्यटन र उद्योगमा निजी लगानीलाई समेत आकर्षित गरी विकास र समृद्धिको लक्ष पूरा गर्न लगानी सम्मलेलन गर्ने नीति लिइएको गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिनुभयो । शुक्रबार गाउँसभाको अधिवेशनमा अध्यक्ष तामाङद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा लगानी सम्मेलन गर्नेदेखि स्थानीय कोदोको रक्सी तीनपाने आईरकलाई ब्रान्डिङ गरी आन्तरिक उत्पादनलाई प्रवर्द्धन गरिने उल्लेख छ ।
नीति तथा कार्यक्रममा दूध, मासु र तरकारीमा पालिकालाई आत्मनिर्भर बनाउने, डक्टर र इन्जिनीयर अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गर्ने, शैक्षिक सुधारका लागि प्रधानाध्यापकसँग करार सम्झौता गर्ने, किशोरीहरुको सुरक्षाका लागि आत्मरक्षा तालिम संचालन गर्ने, एक वडा एक एम्बुलेन्स सेवाका सुरुवात गरिने उल्लेख छ । गाउँपालिकाले सुशासनमा जोड दिँदै 'जनतासँग अध्यक्ष' कार्यक्रममार्फत नागरिकका समस्या बुझ्ने र समाधान गर्ने, यस आर्थिक वर्षमा कुनै पनि सवारी साधनलगायत विलासीताका सामग्री खरिद नगर्ने नीति अवलम्बन गरिएको छ ।
अध्यक्ष तामाङले गाउँसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम संशोधनसहित शुक्रबार सर्वसम्मत पारित भएको छ । ककनी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि चालुतर्फ ३९ करोड ३९ लाख र पुँजीगततर्फ १८ करोड ८३ लाख गरी जम्मा ५८ करोड २२ लाखको बजेट ल्याउने तयारी गरेको छ ।
नीति, कार्यक्रम सार्वजनिक समारोहमा संघीय सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङ, वाग्मती प्रदेशका उपसभामुख एवं पूर्वकृषिराज्यमन्त्री राधिका तामाङको पनि उपस्थिति थियो । त्यस्तै पालिकाका जनप्रतिनिधि, कर्मचारी, स्थानीय, पत्रकार, सरोकारवालाहरु कार्यक्रममा सहभागी थिए ।
ककनी गाउँपालिका रानीपौवा नुवाकोटको अन्तर्राष्ट्रिय स्काउट सभाहलमा आयोजित नवौं गाउँसभामा स्वागत उपाध्यक्ष मिठुमाया तामाङले गर्नु भएको थियो भने कार्यक्रम संचालन प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी शर्माले गर्नुभएको थियो ।
यस्ता छन् मुख्य विषय
यो पनि