नुवाकोट । जिल्लाको शिवपुरी गाउँपालिका ६ गुर्जेका चन्द्रबहादुर तामाङको घर, गोठ पहिरोले पुर्दा २ वटा बाख्रा मरेका छ्न् । शुक्रबार राति भारी वर्षापछिको गएको पहिरोले ढुंगा, माटोले बनाएको घरगोठमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका इन्स्पेक्टर दिलीपकुमार हुमागाईंले जानकारी दिनुभयो । सोही वडामा ७ घर उच्च जोखिममा परेका छन् ।
जोखिममा परेका परिवारहरुलाई सुरक्षित स्थानमा बस्न भनिएको प्रहरीले जनाएको छ । पहिरोस्थल गुर्जे(खोलेगाउँ मोटरबाट करिब ५० मिटर तल रहेको छ ।
यसैबीच, नुवाकोट प्रतिनिधिसभा निर्वाचन १ बाट निर्वाचित सांसद हितबहादुर तामाङ र सभासद विमला सुवेदीले पीडितलाई भेट्नुहुँदै पहिरोस्थल अवलोकन गर्नुभएको छ । छहरे बजारमा नेकपा माओवादी केन्द्र पञ्चकन्या गाउँ समितिद्वारा आयोजित स्थानीय तह निर्वाचन समीक्षा र जनप्रतिनिधिहरुलाई सम्मान कार्यक्रममा भाग लिन जाने क्रममा उहाँहरुले पहिरोस्थल अवलोकन गर्नुभएको हो ।
ुपूर्वमन्त्री माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशका सहइन्चार्ज माननीय हितबहादुर तामाङज्यू तथा पूर्वसभासद तथा केन्द्रीय सदस्य र नुवाकोट जिल्ला इन्चार्ज विमला सुवेदीज्यूलगायत स्थानीय जनप्रतिनिधिसहितको टोलीले भीषण वर्षापछिको गुर्जे पहिरोबाट भएको क्षतिको अवलोकन गर्नुभएको छ, माओवादी पञ्चकन्या गाउँ समिति सदस्य रामहरि भण्डारीले भन्नुभयो ।
उहाँका अनुसार सांसद तामाङले सुरक्षाकर्मी, वडाअध्यक्ष र स्थानीय जनताबीचबाट तत्काल प्रमुख जिल्ला अधिकारी, जिल्ला दैवी उद्धार समिति, विद्युत् प्राधिकरणलगायत निकायलाई जानकारी गराई पीडितलाई तत्काल राहत, उद्धार तथा आवश्यक सहयोग गर्न निर्देशन दिएका छन् । पहिरोले विद्युत् पोलसमेत ढालेको छ ।
जिल्लामा शुक्रबारको भारी वर्षाका कारण आएको बाढी र पहिरोले ककनी, लिखु गाउँपालिकामा पनि १० घर धुरी विस्थापित भएका छन् । ककनी गाउँपालिका ५ ढुंग्यानटोलमा भीर खस्न थालेपछि १० घरधुरी विस्थापित भएका हुन् । भारी वर्षाले ढुंग्यानटोलबस्ती माथिको चट्टानेभीर चिरा परेर पहिरो आउन थालेपछि ती घरहरुलाई स्थानान्तरण गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले टोलवासीलाई जोखिम स्थानबाट २ सय मिटर टाढा खेतको गह्रामा स्थानान्तरण गरिएको बताउनुभयो । ‘बाँस र त्रिपाल हालेर उनीहरुका लागि बस्ने बास बनाउँदैछौं,’ उहाँले भन्नुभयो,’जोखिम मोलेर गाउँलेलाई पहिरोमा पार्न दिन त भएन ।’ स्थानीयवासीलाई सुरक्षित स्थानमा सार्न गाउँपालिकाका पदाधिकारी, स्थानीय, नेपाल प्रहरी खटिएका छन् ।