काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कथित मधेसका मसिहाबाट मधेसी जनताको मुक्ति सम्भव नरहेको बताउनुभएको छ ।
सर्लाही समन्वय समिति काठमाडौंले सोमबार जोरपाटीमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले मधेसी जनताको अधिकारका निम्ति लडिराख्ने पार्टी माओवादी नै भएकोमा जोड दिनुभयो । ‘माओवादीले मात्रै मधेसी जनतालाई मुक्ति दिलाउन सक्छ । दलालहरू मधेसको मसिहा बनेर लुट्न खोजेका छन् । उनीहरूबाट सावधान भएर बस्नुस्,’ उहाँले भन्नुभयो, ‘यो पार्टी प्रवेशले के सन्देश दियो भने अब मधेसमा अरू पार्टी हुने छैनन् । माओवादी केन्द्रले कब्जा गर्नेछ ।’प्रचण्डले माओवादीलाई बदनाम गराउन गौर हत्याकाण्ड गरेर मधेसमा भ्रम छरिएको जिकिर गर्दै त्यस्ता भ्रमलाई चिर्न निर्देशन दिनुभयो ।
प्रदेश २ माओवादीमय नभएसम्म मधेसी जनताले अधिकार पाउन नसक्ने उहाँले बताउनुभयो । माओवादीले मत नपाउँदा विगत तीन वर्षको परिणाम सबैले भोगिसकेको उहाँको भनाइ थियो । ‘जबसम्म माओवादी फेरि एक नम्बर पार्टी हुँदैन तबसम्म यो देशमा स्थायित्व र विकास हुँदैन,’ उहाँले भन्नुभयो, ‘दलाल, जाली फटाहाले मधेसको मसिहा बनेर कसरी जनतालाई नै चुस्छन् भन्ने अभियान लिएर जानुहोस् ।’
केपी ओलीले परिवर्तनको विरोध गरेर संघीयता, लोकतन्त्र र संविधानलाई धरापमा पार्ने काम गरेको उहाँको भनाइ थियो । अध्यक्षले प्रतिगामी र प्रतिक्रान्तिकारीहरू पछारिए पनि उनीहरू अझै चलमलाउने प्रयास भइरहेको बताउनुभयो। ‘प्रतिक्रान्तिकारीहरू पछारिएका छन् । केही दिनपछि एक नम्बर र बागमती प्रदेशमा पनि उनीहरू ढल्नेछन्,’ उहाँले भन्नुभयो ।
प्रचण्डले आफूले पुन: स्थापित संसदमा ओलीलाई आगोसँग खेलेर गल्ती गरेको भन्दै त्यसको परिणाम राम्रो नहुने भनेको कुरा स्मरण गर्नुभयो ।‘मैले माओवादी आगो हो, आगोसँग खेल्दैछौं, सावधानी अपनाऊ भनेर ओलीलाई संसद्मै भनेको हो,’ उहाँले भन्नुभयो, ‘मैले त भनेकै थिएँ नि, अहिले त केपी ओलीले देखे होलान् ।’