काठमाडौं । नेकपा एमालेको विभाजन बागमती प्रदेश संसदीय दलमासमेत परेको छ । दुई साता अघि सर्वसम्मत रुपमा मुख्यमन्त्री बन्नु भएका अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्नुभएको छ । १०९ सदस्यीय प्रदेश सभामा एमालेको ५६ सांसद रहेसँगै एकल बहुमतबाट मुख्यमन्त्री बन्नुभएका शाक्य मंगलबार अल्पमतमा परेका हुन् ।
एमालेबाट विभाजन भई हालै गठन भएको नेकपा (एकीकृत समाजवादी) मा १२ जना सांसदले सनाखत गरेपछि शाक्य अल्पमतमा पर्नुभएको हो । ५६ सांसदमध्ये १२ जनाले समाजवादीको पक्षमा सनाखत गरेपछि अब एमाले संसदीय दल ४४ सदस्यीय भएको छ । योसँगै बागमती प्रदेशमा एमालेले बहुमत गुमाएको छ ।
यता १२ जना सांसद रहेको माधवकुमार नेपाल नेतृत्वको समाजवादीबाट मुख्यमन्त्रीका उम्मेदवारलाई २२ सांसद रहेको कांग्रेस र २३ सांसद रहेका माओवादीले समर्थन रहने छ ।
समाजवादीको १२, कांग्रेसको २२ र माओवादीको २३ गरी ५७ सांसद हुनेछन् । जुन सरकार बनाउन आवश्यक पर्ने ५५ सांसदभन्दा दुई सांसद बढी हुन आउँछन् । यस कारण शाक्यलाई हटाएर बागमतीको मुख्यमन्त्रीमा समाजवादीका राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउन तयारी थालिएको छ । मंगलबार एमालेका १२ जना सांसदले समाजवादीमा सनाखत गरिएसँगै पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारी थालिएको छ ।
मंगलबार सत्तारुढ एमालेका १२ जना सांसदले समाजवादीमा सनाखत गरेपछि अबको ३० दिनभित्र मुख्यमन्त्री शाक्यले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहन्छ ।
शाक्यलाई हटाएर राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने समाजवादीको रणनीति छ । पार्टी र सरकारमा एकै व्यक्तिलाई जिम्मेवारी नदिने माधव नेपालको रणनीतिअनुसार पार्टी महासचिवका दाबेदार पाण्डेलाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउन लागिएको हो । पाण्डे मुख्यमन्त्री बनेमा समाजवादीको महासचिव गंगालाल तुलाधर र डा. विजय पौडेल मध्ये एक बन्ने छन् ।
कांग्रेस र माओवादीको समर्थनमा बागमती प्रदेशको सरकार परिवर्तन गर्ने तयारीमा रहनुभएका माधव नेपाल सरकारमा समेटेकालाई पार्टी जिम्मेवारी नदिने र पार्टीको जिम्मेवारी लिएकालाई सरकारमा नपठाउने रणनीतिमा देखिन्छ ।
न्युज कारखाना