काठमाडौं । सधैँ राजनीतिक भेटघाटमा व्यस्त हुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार भने खेलाडीलाई फुटबल खेल जित्न हौस्याइरहनु भएको थियो । सधैँ राजनीतिक भेटघाटमा व्यस्त हुने अध्यक्ष ओलीले १७ भदौमा हुने नेपाल-भारत मैत्रीपूर्ण फुटबल प्रतियोगिताका नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई हौस्याउनु भयो । उहाँले खेलाडीसँग कुनै राजनीतिक कुरासमेत गर्नुभएन ।
काठमाडौंमा आयोजित कार्यक्रममा फुटबल खेलाडीलाई नेपालमा राम्रो अभ्यास र तालिम नभए पनि खेलाडीलाई हौसला दिन उहाँले कुनै कन्जुस्याइँ गर्नुभएन । अध्यक्ष ओलीले नेपालका खेलाडी तुलनात्मक रूपमा अग्ला नभए पनि मसल दह्रो भएकाले खेल जित्ने दाबी गर्नुभयो ।
‘खेल्न नसकेर नजित्ने कारण छैन । हाम्रा खेलाडीको सरदर हाइट कम छ’, उहाँले भन्नुभयो, ‘तैपनि हाम्रा मसल दह्रो भएकाले खेल जित्छौँ । यस मैदानमा जित्नका लागि आएका छौँ भनेर खेल खेल्ने हो ।’ उहाँले फुटबल खेल जितेर अन्य खेलको असुल उपर गर्न खेलाडीलाई आग्रह गर्नुभयो । उहाँले खेलाडीलाई हरेस नखान र मनोबल उच्च राख्न आग्रहसमेत गर्नुभयो ।
उहाँले फुटबल खेल म्याराथन जस्तो नभएको समेत स्पष्ट पार्नुभयो । ‘यो खेलमा लगातार कुद्नुपर्दैन । एउटा पोस्टबाट अर्को पोस्टको लम्बाइ ८० मिटर । त्यो ८० मिटर कुद्नुपर्दैन’, उहाँले भन्नुभयो, ‘फुटबलमा रिले दौड जस्तै सय मिटर खुर्र कुद्न सक्नुपर्छ अनि खेलको बीचमा आराम गर्नुपर्छ । अनावश्यक दौडिएर हुँदैन । एकअर्कालाई पास दिएर खेल्नुपर्छ ।’
उहाँले अलिकति डिफेन्सिभ भए पनि हरेस नखान खेलाडीलाई आग्रह गर्नुभयो । उहँले हाफ टाइमभन्दा अगाडि अर्काले खुरुखुरु चार गोल गरे पनि हाफ टाइमपछि बाँकी रहेको समममा पाँच गोल हान्न आग्रह गर्नुभयो । ‘हाफ टाइमभन्दा पछि आफ्नो तेज देखाउनुहोस्’, उहाँले भन्नुभयो ‘भरसक विपक्षीले भन्दा अगाडि हामीले पहिलो गोल गर्नुपर्छ अनि विपक्षीको मनोबल अलिक कमजोर हुन्छ । ’
उहाँले दोस्रो गोल आफूलाई सुरक्षित राख्नका लागि हान्नु पर्ने र विपक्षीलाई गोल गर्न मौका दिन नहुने पनि बताउनुभयो । दुई गोल गरे विपक्षीले हरेस खाने र जित्न सकिने उहाँले बताउनुभयो ।