नुवाकोट । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पासाङ ल्हामु मार्गको बालाजु-ककनी सडकलाई छिटोभन्दा छिटो राम्रो बनाउन पहल गर्ने विश्वास दिलाउनुभएको छ ।
नुवाकोटको ककनी गाउँपालिकामा शुक्रबार सगरमाथा आरोही साकार दाहाल 'प्रकाश'को सालिक अनावरण गर्नुहुँदै अध्यक्ष प्रचण्डले राजमार्ग पुनर्स्थापना कोषको रकम विनियोजन गराएर भए पनि बालाजु-ककनी सडक स्तरोन्नतिमा लाग्ने प्रतिबद्धता जनाउनुभएको हो ।
'ककनी गाउँपालिका अध्यक्ष र माननीय हितबहादुर तामाङले बाटोको कुरा राख्नुभयो । राजमार्ग पुनर्स्थापना कोषमा झन्डै ९ अर्ब रकम रहेको मलाई थाहा छ । ठेक्का रद्द भइसकेकोले अब त ठेकेदारले काम गरेन भन्ने ठाउँ पनि सिद्धियो । त्यसकारण पुन: टेण्डर गरेर अगाडि बढाउनलाई त्यो रकमबाट सम्भव छ,' नेपाल पर्वतारोहण संघद्वारा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो, 'म यो गाउँपालिकाका अध्यक्ष र यहाँका जनसमुदायलाई के विश्वास दिलाउन चाहन्छु भने नयाँ टेन्डर गरेर यो बाटोलाई छिटोभन्दा छिटो राम्रो बनाउन पहल गर्नेछु ।'
दाहालअघि सम्बोधन गर्नुभएका नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री हितबहादुर तामाङ, वाग्मती प्रदेश उपसभामुख राधिका तामाङ, ककनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सुजन तामाङले पर्यटकीय नगरी ककनी ओहोरदोहोर गर्ने बालाजु-ककनीको सडक दुरावस्थाबारे प्रचण्डको ध्यानाकर्षण गराउनुभएको थियो । वर्षौंदेखि दुरावस्था रहेको ककनी-बालाजु सडकका लागि आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजित बजेटमा रकम नपरेपछि नुवाकोटका जनप्रतिनिधि र स्थानीय आक्रोशित छन् ।
अध्यक्ष प्रचण्डले पर्यटन र आर्थिक विकासका लागि भनेर आफ्नै निर्देशनमा तत्कालीन अर्थमन्त्री वर्षमान पुन र मन्त्री पोष्टबहादुर बोगटीको पालामा १ अर्ब ३४ करोडभन्दा बढी रकम छुट्याएर काम अगाडि बढाउने भनिए पनि काम नभएको स्मरण गराउनुभयो ।
छोरा प्रकाशको सालिक ककनीमा निर्माण गर्नुमा परिवारको कुनै अनुरोध वा माग नरहेको प्रस्ट पार्नुहुँदै अध्यक्ष प्रचण्डले नेपाल पर्वतारोहण संघको पहलमा उक्त काम भएको बताउनुभयो । उहाँले आरोही साकारको मात्रै नभई ८ हजारभन्दा माथिका हिमाल सफलतापूर्वक आरोहण गर्नेहरुको सालिक पनि सोही ठाउँमा निर्माण गरेर सम्मान गर्न सुझाव दिनुभयो ।
नेपाल पर्वतीय विकास लागि निकै सम्भावना भएको मुलुक भन्नुहुँदै उहाँले नेपालमा पर्यटन विश्वविद्लाय स्थापनामा पनि जोड दिनुभयो । त्यस्तै पर्यटन व्यवसाय, व्यवसायी र कृषि विकासका निम्ति ककनी उपयुक्त ठाउँ रहेको समेत प्रचण्डले उल्लेख गर्नुभयो ।
कार्यक्रममा पूर्वमन्त्री विना मगर, वाग्मती प्रदेशसभा सदस्य युवराज दुलाल, पर्वतारोहण संघका पदाधिकारीहरुलगायतको उपस्थिति थियो ।