काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानमा आवद्ध चार दलले संयोजक वामदेव गौतमलाई निष्कासन गरेको जनाएको छ । अभियानमा आवद्ध समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी, आम नेपाली पार्टीका शीर्ष नेताको बैठकले विभिन्न आरोप लगाउँदै गौतमलाई निष्कासन गरेको जनाएको छ ।
गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानले ११ असारमा ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा दोस्रो भेला आयोजना गरिएको थियो ।
समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी, आम नेपाली पार्टीसमेत सहभागी भेलाले गौतमको नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियानलाई दलको रुपमा अघि बढाउने निर्णय गरेको थियो ।
यस्तै शनिबार सतुंगलस्थित एक पार्टी प्यालेसमा चार पार्टीको शीर्ष नेताको बैठकले गौतमलाई बहुमतबाट निष्कासन गरी सचिवालय सदस्य युवराज सफलको संयोजकत्वमा ११ सदस्यीय सचिवालय समिति गठन गरेको छ ।
जसको सदस्यमा कृष्णगोपाल वञ्जरा, मीननाथ देवकोटा, नीलकण्ठ पौडेल, द्वारिका निरौला मानव, गुणबहादुर वञ्जरा, भरत कुमाल, भगवती ढकाल, सरस्वती न्यौपाने, तेजबहादुर कार्की र रोशन लामिछाने रहेका छन् ।
पाँच बुँदे आरोप पत्र लगाउँदै संयोजकलाई आजकै मितिदेखि नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट निष्कासन गरिएको उल्लेख गरिएको छ ।
यस्ता छन् गौतमलाई लगाएको आरोप
– प्रतिवेदनमा सैद्धान्तिक तथा बैचारिक मतभेद रहेको ।
– असमान सन्धी सम्झौताको विषयमा मौनता साँधेको।
– केन्द्रीय समितिमा अभियानमा जोडिएका राजनीतिक पार्टीहरुलाई सम्मानजनक सिट संख्या नदिइएको।
– केन्द्रीय सचिवालय एकलौटीरुपमा बनाएको।
– सचिवालयमा पार्टीका प्रमुखहरुलाई समावेश नगरेको।
– केन्द्रीय समिति घोषणा गर्दा वरियता निर्धारण नगरेको।
– केन्द्रीय समिति बैठकले बनाएको वार्ता टोलीलाई सक्रिय नबनाएको।
– अभियानमा जोडिएका पार्टीहरुलाई सम्मानजनक व्यवहार नगरेको।
– सम्मान, जोस, जाँगर र उत्साहपूर्वक कार्य गर्ने वातावरण नभएको।