काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरुङले पार्टीको सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । बुधवार पत्रकार सम्मेलन गरेर नेता गुरुङले पार्टीको आसन्न १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने औपचारिक घोषणा गर्नुभएको हो ।
नेविसंघका पूर्वअध्यक्षसमेत रहेका ५१ वर्षीय गुरुङले युवाहरुको प्रतिनिधित्व गर्दै आफूले उम्मेदवारी दिएको र जित्ने दाबी गर्नुभयो । २०४८ सालमा जो नेतृत्वमा थिए ३० वर्षपछि पनि उनीहरु नै नेतृत्वमा बसिरहेको भन्दै गुरुङले नयाँ पुस्ताको नेतृत्व गर्दै आफू अघि सरेको बताउनुभयो । 'शासन व्यवस्थामा परिवर्तन आयो । तर नेतृत्वको सोचमा परिवर्तन आएन । ६० वर्ष माथिको २० जना पार्टी नेतृत्वका आकांक्षी छन् । कम्तीमा पनि १० जना युवा आकांक्षी हुनुपर्छ,' उहाँले भन्नुभयो, 'बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहले युवा अवस्थामा पार्टी र सरकारको नेतृत्व गरेको कांग्रेसमा अहिले पनि पुरानै पुस्ता नेतृत्व गरिरहेको छ । नयाँ पुस्ता पार्टी र देशको नेतृत्व गर्न सक्षम छ त्यसैले मेरो उम्मेदवारी हो ।'
गुरुङले नयाँ पुस्ताले नेतृत्व लिनुपर्छ भन्ने आम मानिसको माग रहेको र ८० प्रतिशत क्रियाशील सदस्य युवा भएकाले आफूले उम्मेदवारी दिएको दोहोर्याउनुभयो । उहाँले आफू सभापति भएमा सबै समुदायलाई समेटेर समावेशी पार्टी बनाउने दाबी गर्नुभयो । 'सबैले अवसर पाउने, सबैलाई न्याय हुने पार्टी बनाउँछु,' उहाँले भन्नुभयो ।
गुरुङले एक व्यक्तिमात्रै पटक पटक मन्त्री, सांसद र पार्टी पदमा रहिरहने व्यवस्था पनि फेर्ने बताउनुभयो । 'समानुपातिक सांसद एकपटक मात्र बन्न पाउने, दुई पटकमात्र मन्त्री हुन पाउने, दुई पटकमात्र प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्था पार्टीको विधानमा व्यवस्था गर्छु । एक व्यक्ति पार्टीको वडा सभापतिदेखि केन्द्रीय सदस्यसम्म दुई पटकमात्र पदमा बस्न पाउने विधानमै व्यवस्था गर्छु,' उहाँले भन्नुभयो ।
गुरुङले स्थानीय तहमा ५० प्रतिशत महिला प्रमुख र ५० प्रतिशत महिला उपप्रमुख हुने संवैधानिक व्यवस्थाका लागि पहल गर्ने बताउनुभयो । 'सभापति भएर पार्टीको नेतृत्वमा सरकार बने शिक्षामा सबैको पहुँच, अनिवार्य र नि:शुल्क शिक्षा, सबै निजी अस्पताललाई राष्ट्रियकरण गरेर सबै नागरिकलाई नि:शुल्क गुणस्तरीय शिक्षा प्रदान गर्छु,' उहाँले भन्नुभयो ।
सभापति बनेर सरकारको नेतृत्व गर्ने अवसर पाए ६ महिनाभित्र भ्रष्टाचारमुक्त देश बनाउन पहल गर्ने गुरुङको भनाइ थियो । त्यसका लागि कडाभन्दा कडा कानुन बनाउने उहाँले उल्लेख गर्नुभयो ।
१३ औं महाधिवेशनमा भाग लिन नपाएका क्रियाशील सदस्यहरु अहिलेको पदाधिकारीप्रति असन्तुष्ट रहेको भन्दै उनीहरुले मत आफूले पाउने र युवाको संख्या पार्टीमा धेरै भएकाले आफूले जित्ने गुरुङको दाबी छ । गुरुङ पार्टीमा उनी रामचन्द्र पौडेलनिकट मानिनुहुन्छ । उहाँले चाँडै आफ्नो टिम सार्वजनिक गर्ने पनि बताउनुभयो ।
यसअघि कांग्रेस सभापतिमा लड्न उपसभापति विमलेन्द्र निधिले सम्पर्क कार्यालय खोलिसक्नुभएको छ । पूर्वउपसभापति गोपालमान श्रेष्ठले बुधबार स्याङ्जा पुगेर सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
महामन्त्रीमा गगन थापाले उम्मेदवारी घोषणा गर्नुभएको छ । वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नै फेरि नेतृत्वमा दोहोरिन उम्मेदवारी दिने मनस्थितिमा रहेको बताइन्छ । महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसमा धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ । कांग्रेस केन्द्रीय महाधिवेशन ९-१३ मंसिरसम्म हुनेछ