काठमाडौं । नेपाल तामाङ घेदुङको संघीय कार्यसमितिमा १० देशका सदस्य मनोनीत भएका छन् ।
घेदुङको कार्यालय चुच्चेपार्टीमा मंगलबार बसेको सचिवालय बैठकले एक देश एक संघीय सदस्य रहने विधानको व्यवस्थाबमोजिम १० देशबाट सिफारिस भएकाहरुलाई मनोनीत गर्ने निर्णय गरेको हो । घेदुङका सहअध्यक्ष कुमार सिंह घिसिङले नवौं महाधिवेशनपछिको सचिवालयको दोस्रो बैठकले प्रवासस्थित तामाङ घेदुङ इजरायल, कुवेत, दक्षिण कोरिया, बहराइन, दुबई, कतार, मलेसिया, इराक र साइप्रसका प्रतिनिधिलाई संघीय सदस्यमा मनोनीत गर्ने निर्णय भएको जानकारी दिनुभयो । घेदुङमा आबद्ध प्रवासी संस्था २४ रहेका छन् ।
बैठकले प्रारम्भिक चरणमा विभिन्न क्षेत्रका २४ तामाङ अगुवाहरुलाई सल्लाहकारमा चयन गरेको छ । सहअध्यक्ष घिसिङका अनुसार पूर्वअध्यक्षहरु परशुराम तामाङ, कुमार योञ्जन तामाङ, धनप्रसाद तामाङ र महेन्द्र तामाङसहित विभिन्न राजनीतिक दल दलमा आबद्ध वर्तमान र पूर्वमन्त्री समेत रहेका तामाङ अगुवा नेताहरु, विज्ञ र पेसा व्यवसायमा संलग्नहरु सल्लाहकारमा चयन भएका छन् ।
त्यस्तै घेदुङको विधानअनुसार एक जिल्ला एक संघीय सदस्य रहेकोमा स्वत: जिल्ला इञ्चार्ज हुने व्यवस्था छ । तर ११ वटा जिल्लामा एकभन्दा बढी संघीय सदस्य रहेकोकाले ती जिल्लाहरुमा इञ्चार्ज तोक्ने निर्णय मंगबारको बैठकले गरेको सहअध्यक्ष घिसिङले बताउनुभयो ।
घेदुङले महाधिवेशन भएको झन्डै ४ महिनापछि सल्लाहकार चयन र संघीय सदस्य मनोनयन गरेको हो । अझै विभागीय जिम्मेवारी बाँडफाँट बाँकी छ । घेदुङको महाधिवेशन २०७८ फागुन २९ देखि चैत २ गतेसम्म भएको थियो ।