काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फेरि स्थगित भएको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक नेताहरु संसद् बैठकमा सहभागी हुनुपर्ने भन्दै स्थगित गरिएको हो । मंगलबार पनि गृहकार्य नपुगेको भन्दै बैठक आजलाई सारिएको थियो ।
'नेतृत्वको टिम संसद् बैठकमा सहभागी बन्नु पर्ने भएकोले आज १ बजे निर्धारण गरिएको केन्द्रीय समितिको बैठक भोलि २०७९ असार २३ गते बिहीबार बिहान ११ बजे बस्ने भएको छ,' अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची थियो । असार १९ गते पहिलो दिनको बैठकमा प्रदेश इन्चार्ज तथा अध्यक्षहरुले र २० गते केन्द्रीय सदस्यहरुले बैठकमा धारणा राख्नुभएको थियो ।
यसअघिको बैठकमा सहभागीहरुले आगामी चुनावमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने, स्थानीय तह चुनावमा भएको अन्तरघात छानबिन गर्नुपर्ने र यसै बैठकबाट पदाधिकारी टुंगो लगाउनु पर्ने धारणा राख्नुभएको थियो ।
गत पुस १८ गते काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनले अध्यक्षमा प्रचण्डलाई नै निरन्तरता दिए पनि अन्य पदाधिकारीहरु अहिलेसम्म पनि चयन गरिएको छैन । आठौं महाधिवेशनले पारित गरेको विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष सहितको पदाधिकारी रहने व्यवस्था छ ।