काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुभएको छ । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिनुभएको हो । उहाँमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको छ ।
शर्मामाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ भने प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि आरोप लागेको छ ।
संसदीय छानबिन समिति गठन
प्रतिनिधिसभाले आगामी आर्थिक वर्षको बजेट निर्माणका सन्दर्भमा अनधिकृत व्यक्तिको संलग्नताबारे उठेको प्रश्नको छानबीन गर्न संसदीय छानविन समिति गठन गरेको छ । उक्त संसदीय समिति ११ सदस्यीय रहेको छ । संसदीय समिति गठनसम्बन्धी जानकारी सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई गराउनुभयो ।
समितिमा खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गौतम, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव सदस्य हुनुहुन्छ । समितिले आवश्यकताका आधारमा सभापति चयन गर्नसक्ने व्यवस्था गरिएको छ । समितिलाई १० दिनको कार्यावधि दिइएको छ ।
समितिले आवश्यकताका आधारमा विभिन्न व्यक्तिसँग छलफल गर्न सक्नेछ । प्रतिनिधिसभा नियमावली, २०७५ बमोजिम उक्त समिति गठन गरिएको हो । करको दर हेरफेर भएका सन्दर्भमा सार्वजनिकरुपमा कुरा उठेपछि प्रतिनिधिसभाले समिति गठन गरेको सभामुखले जानकारी गराउनुभएको छ । त्यसअघि प्रतिनिधिसभाको आज ११ बजेका लागि तय भएको बैठक ढिला गरी सुरु भएको हो ।