काठमाडौं । पूर्वमन्त्री एवं माओवादी नेता लोकन्द्र विष्ट मगरले आफूले राजनीति छोडेको नभई मोर्चा मात्र बदलेको बताउनुभएको छ ।
पछिल्लो समय कृषि उद्यमीको परिचय बनाएका नेता विष्टले ग्लोबल मिडियासँगको कुराकानीमा फरक ढंगले आर्थिक क्रान्तिको नेतृत्व गर्ने बताउनुभएको हो । कालो धानको खेतीबाट कृषि पेसामा फर्केका पूर्वमन्त्री विष्टले हाल दाङमा ड्रागन फ्रुटको खेती गरिरहनुभएको छ ।
पूर्वमन्त्री विष्टले नेपालको वर्तमान राजीनितिक पार्टीहरुबाट नेपाली जनता र किसानको समस्या समाधान नहुने भन्दै आम युवाहरुलाई समेटेर सामाजिक, आर्थिक रुपान्तरणको नेतृत्व गर्ने बताउनुभयो । राजनीतिमा 'कमब्याक' गर्नु हुन्न ? भन्ने ग्लोबल मिडियाको प्रश्नमा उहाँले भन्नुभयो, ‘मैले मोर्चा बदलेको छु, सामाजिक, आर्थिक क्रान्तिको मोर्चा, अरुको मोर्चा (पार्टी)मा जान्न, म मेरै मोर्चा सम्हाल्छु,’ उहाँले थप्नुभयो, ‘पार्टीहरु राजनीतिक मोर्चाबाट आओस्, म मेरो मोर्चाबाट लड्छु, कसको क्रान्ति सफल हुन्छ, म च्यालेन्ज गर्छु ।’
नेपालका राजनीतिक पार्टीहरुलाई नाङ्लो पसलको संज्ञा दिंदै उहाँले अर्को नाङ्लो पसल जरुरी नभएको बताउनुभयो । नङमा माटो नपरेका बाबुसाहेव, मेमसाहेव र आसेपासेलाई कृषिको भ्रमण गराएर कृषि अनुदान दुरुपयोग गरेको भन्दै पूर्वमन्त्री विष्टले किसानलाई सिंहदरबार र प्रदेश राजधानी बोलाउने भन्दा सरकार किसान कहाँ पुग्ने नीति बनाउनुपर्ने सुझाव दिनुभयो । कृषि विकास र किसानको हितका लागि राज्यले कृषि उपजको बजार व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ छ ।
विश्व बजारमा अत्यधिक माग रहेको बहुगुणी कालो धान, ड्रागन फ्रुट लगायतको खेती गर्न उहाँले सुझाव दिनुभयो । सबै नेपालीले घरघरमा आठ–दस बोट र सक्नेले व्यावसायिक खेती गर्न सकेमा आर्थिक आर्थिक समृद्धिमा टेवा पुग्ने पूर्वमन्त्री विष्टको ठहर रहेको छ ।