सञ्चिता घिमिरे,काठमाडौं । काठमाडौं उपत्यकामा सरकारी लगानीको विद्युतीय बस सञ्चालन गरिएको छ । साझा यातायात सहकारी संस्था प्रालिका संस्थापक अध्यक्ष ९५ वर्षीय विश्वबन्धु थापाले साझाको झण्डा फहराएपछि बस सञ्चालनमा ल्याइएको हो । प्रालिले बिहीबार तीन विद्युतीय बस सञ्चालन सुरु गरेकामा सबै चालक र सहचालक महिला छन् ।
ती बसमध्ये दुई माछापोखरी–बालाजु–सोह्रखुट्टे–जमल–पुरानो बसपार्क–माइतीघर–नयाँबानेश्वर–तीनकुने–सिनामङ्गल–एयरपोर्टको रुटमा र एक लगनखेल–जावलाखेल–कुपण्डोल–त्रिपुरेश्वर–नेपाल वायुसेवा निगम–लैनचौर–शिक्षण अस्पताल–नारायण गोपालचोक–बाँसबारी–बूढानीलकण्ठ रुटमा सञ्चालन हुने साझाले जनाएको छ ।
साझाले ४० विद्युतीय बस खरिद गरेकामा बाँकी ३७ बस आगामी महिनाभित्रमा आइपुग्ने जनाइएको छ । सरकारले तीन वर्ष पहिले रु तीन अर्बको शेयर खरिद गरेपछि सोही रकमबाट विद्युतीय बस खरिद भएको थियो । ब्याट्रीबाट चल्ने बस नयाँ प्रविधिको भएकाले तीन चरणमा भित्र्याउने योजना बनाइएको प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताउनुभयो ।
पहिलो चरणमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी आठ दशमलव पाँच मिटर लामो बस खरिद गरिएको छ । ती बस चीनको सिएचटिसी कम्पनीले तयार गरेको हो । दोस्रो चरणमा योभन्दा बढी लामो बस खरिद हुने कम्पनीले जनाएको छ । झण्डै १० देखि १२ मिटर लम्बाइको सहरी विद्युतीय बस तथा लामो दूरीको विद्युतीय बस खरिद प्रक्रिया अघि बढाइसकेको उहाँले बताउनुभयो । बस चालक हर्मिता श्रेष्ठले अरु बसभन्दा यो सजिलो भएको बताउनुभयो ।
केही वर्षदेखि साझाकै पेट्रोलियम पदार्थबाट चल्ने बस चलाइरहनुभएकी उहाँ यी बसमा क्लज, गेयर हाल्नु नपर्ने हुँदा सजिलो भएको जानकारी दिनुभयो । यसमा स्विच अन गरेपछि आफैँ गुड्ने हुँदा चलाउन सजिलो छ । उहाँले भन्नुभयो, “अरु गाडीजस्तो आवाज आउने छैन ।” साझा अध्यक्ष कनकमणि दिक्षीतले नेपालमा साझाले सहरी यातायात र क्षेत्रीय यातायात सुरु गरेको छ भन्नुभयो ।
विद्युतीय बस आर्थिक र वातावरणीयरूपमा उपयुक्त रहेको र यात्रुलाई पनि सुविधा हुने उहाँले बताउनुभयो । निजी क्षेत्रले सार्वजनिक यातायातको ठूलो हिस्सा ओगटेका कारण नेपाल सरकारले यस क्षेत्रलाई बस सञ्चालनका लागि पनि सहुलियत ऋण उपलब्ध गराउनुपर्नेमा अध्यक्ष दिक्षीतले जोड दिनुभयो । चार्जिङ स्टेशन निर्माणका लागि सरकारले सहयोग गर्ने उहाँको विश्वास थियो ।
अध्यक्ष दिक्षीतले भन्नुभयो, “चार्जिङ स्टेशनका लागि सक्दो चाँडो जग्गा उपलब्ध हुनेमा हामी आशावादी छौँ ।”साझा खुल्दा आफू ३० वर्ष भएको र अहिले ९५ वर्ष भएको संस्थापक अध्यक्ष थापाले बताउनुभयो । बस सञ्चालन हुँदा खुसी लागेकैले आफू यहाँ आइपुगेको उहाँको भनाइ थियो। यी बसहरूमा २६ सिट रहेको र क्षमता प्रतिघण्टा १६१ किलोवाट रहेको छ । अहिले बससँगै दुई थान चार्जरसमेत ल्याइएको छ ।
बस एकपटक पूरै चार्ज गर्दा २०० किलोमिटर चल्नसक्ने सञ्चालक समिति सदस्य तुलाधरले बताउनुभयो । दिनभर बस गुडाएर राति चार्ज गर्न सकिने सञ्चालक समिति सदस्य भूषण तुलाधरले बताउनुभयो । उहाँले भन्नुभयो, “राति तीन–चार घण्टा चार्ज गरेपछि अर्काे दिन बिहानदेखि साँझसम्म चलाउन सकिन्छ ।” अरु सामान्य बसभन्दा अहिले ल्याइएको विद्युतीय बस होचो र सानो छ । यो बस अपाङ्तामैत्रीसमेत रहेको उहाँले बताउनुभयो ।
होचो (लो–फ्लोर) रहेकाले अपाङ्गता भएका व्यक्ति उक्लिन र ओर्लन सजिलो हुन्छ । बसभित्र ह्वीलचेयर राख्नका लागि पनि स्थान राखिएकोे छ । मोबाइल चार्ज गर्ने ठाउँ, गन्तव्यका बारेमा जानकारी दिने र अरु सूचना देखिने गरी बोर्डको व्यवस्था गरिएको छ । पेट्रोलियम पदार्थका सवारीसाधनजस्तो वातावरण प्रदूषण नगर्ने बसमा ध्वनिको प्रदूषण पनि अरुमाभन्दा कम रहेको छ । बसमा थर्काइ (भाइब्रेसन)पनि कम रहेको सञ्चालक समिति सदस्य तुलाधरले जानकारी दिनुभयो ।
हाल खरिद भएका बस पाँच वर्षसम्म मर्मत गर्ने सम्झौतामा उल्लेख छ । सम्झौताअनुसार साझाले ४० वटा विद्युतीय बस र २० वटा चार्जरका लागि ३७ लाख ३८ हजार ५५० अमेरिकी डलर तथा आवश्यक तालिम र पाँच वर्षको मर्मतसम्भार र स्पेयर पार्टका लागि नेपाली रु छ करोड ७३ लाख ६५ हजार ५५३ प्रदान गर्नेछ ।
साझाले गत चैतमा आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रअनुसार नौ कम्पनीले बुझाएको बोलपत्रको मूल्याङ्कन गरेर सबै प्राविधिक ‘स्पेसिफिकेसन’हरू मिलेको र कम मूल्य कबोल गरेको सो कम्पनीको प्रस्ताव स्वीकृत गरिएको हो ।सार्वजनिक यातायातको विद्युतीकरणले एकातिर आयतित खनिज इन्धनको बढ्दो प्रयोगलाई स्वदेशी नवीकरणीय ऊर्जाले प्रतिस्थापन गरेर देशको अर्थतन्त्रलाई टेवा दिने बताइएको छ ।
अर्कोतिर वायु प्रदूषण कम गरी वातावरण र जनस्वास्थ्यलाई समेत फाइदा पुग्ने अपेक्षा गरिएको छ । विगतदेखि नै सार्वजनिक यातायात सञ्चालन गरिरहेको साझाले सङ्घीय, प्रादेशिक र स्थानीय सरकारको सहकार्यमा काठमाडौँलगायत देशका अन्य सहरमा समेत सहकार्य गर्दै आएको थियो ।
आगामी दिनमा वातावारणमैत्री र प्रभावकारी सार्वजनिक यातायात सेवा विस्तारमा समेत तीन तहको सरकारसँग सहकार्य बढाउने योजना रहेको जनाइएको छ ।अघिल्लो सरकारले विसं २०७५ पुसमा विद्युतीय बस खरिद गर्ने निर्णय गरेको र विसं २०७६ असार ३१ मा बस खरिदको जिम्मेवारी साझालाई दिने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बस खरिदका लागि साझाको रु तीन अर्बको शेयर खरिद गरेको थियो । संस्थाले ‘स्पेसिफिकेसन’ भन्दा फरक बस किन्न खोजेको पाइएको भन्दै रकम फिर्ता गरेको थियो । पुनः बस खरिद गर्दा कोमार्फत र कुन प्रक्रियाबाट खरिद गर्ने भनी निर्णय हुन नसक्दा १६ महिनासम्म बस खरिदमा अन्योल रहेको थियो ।
विसं २०७७ फागुन २ गते मन्त्रालयको पत्रानुसार पुनः साझाले अन्तर्राष्ट्रिय बोलपत्रद्वारा खरिद प्रक्रिया अघि बढाएको थियो । देशमा विद्युत् उत्पादन बढिरहेकाले पनि विद्युतीय सवारीसाधनलाई बढवा दिने सरकारले योजना बनाएको छ । सङ्घले मात्रै होइन, प्रदेश सरकार र स्थानीय तहले पनि विद्युतीय बस खरिद गर्दै जाने योजना बनाइरहेका छन् ।
तीन वर्ष पहिले नै बागमती सरकार, काठमाडौं र ललितपुर महानगरपालिकाले साझा यातायातमार्फत बस खरिद गर्ने गरी संस्थाको शेयर खरिद गरेका थिए । यसअघि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आएको बस उद्घाटन भएर पनि चल्न सकेको थिएन ।
विमानस्थल बनिसक्न ढिलो भएकाले एशियाली विकास बैंकको सहायतामा लुम्बिनी विकास कोषले भित्र्याएको चार थान बिजुलीबाट चल्न बस केही समय साझाले नै उपत्यकामा सञ्चालन गर्ने सहमति गरिएको थियो । सरकारी परीक्षणमा सफल नहुँदा कोषका बस सञ्चालनमा आउन सकेको थिएन ।
उपत्यकामा निजी कम्पनीले केही वर्ष पहिलेबाट विद्युतीय बस सुरु गरे पनि सरकारी लगानीमा सञ्चालन भएको यो पहिलो हो ।