जनकपुर । मधेस प्रदेशसभाको बैठकमा बिहीबार प्रदेश सरकारको चार वटा मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल भएको छ । बिहीबारको बैठकमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालय, गृह तथा सञ्चार मन्त्रालय र अर्थ मन्त्रालयका लागि विनियोजित बजेटमाथि प्रदेशसभा सदस्यहरुले आआफ्ना धारणा राख्नुभयो ।
बैठकमा प्रदेशसभा सदस्यहरू परमेश्वर साह, किशोरी साह कमल, शिवचन्द्र चौधरी, उपेन्द्र महतो, रानी शर्मा तिवारी, प्रमिलादेवी दास, अभिराम शर्मा, डा रिना यादव, जैनुल राईनलगायतले कतिपय मन्त्रालयको बजेट कार्यक्षेत्र मिचेर विनियोजन गरिएको र बजेट विनियोजनमा भेदभाव भएको भन्दै बजेटलाई संशोधन गरी मात्र पारित गर्नुपर्नेमा जोड दिनुभयो ।
भोलि असार २४ गते शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय, उद्योग पर्यटन तथा वन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि विनियोजित बजेटमाथि दफावार छलफल हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो ।
मन्त्रालयगत बजेटको छलफल सकिएपछि असार २५ गते आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट पारित हुने बताइएको छ । प्रदेश सरकारका अर्थमन्त्री साहले गत असार १ गते प्रदेशसभा बैठकमा आगामी आव २०७९÷०८० का लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गर्नुभएको थियो ।