काठमाडौं । नेकपा माओवादी निकटको अनेरास्ववियू (क्रान्तिकारी) पवन कार्की पक्षले दुई महिने संगठन सुदृढीकरण अभियान थालेको छ । “वास्तविक विद्यार्थी अखिल क्रान्तिकारी” भन्ने नाराको साथ समानान्तर समितिले सोमबार ललितपुरको पाटन संयुक्त क्याम्पसबाट अभियानको सुरु गरेको हो । अध्यक्ष पञ्चा सिंहसँग विवाद बढेपछि कार्कीको संयोजकत्वमा समानान्त समिति गठन गरिएको थियो । दुई महिनाको अभियानमा विभिन्न ९ एजेन्डालाई अघि सारिएको छ ।
यो अभियानलाई माओवादीलाई २ लाख नयाँ सदस्यता थप गराउने पनि अभियानको उद्देश्य रहेको दाबी गरिएको छ । प्रवक्ता उपदेश यादवले अभियान अवधिमा गरिने कार्यहरुको बारेमा जानकारी गराउनुभएको थियो । अभियानका क्रममा कक्षा, इकाई, क्याम्पस, पालिका, जिल्ला, विश्वविद्यालयदेखि प्रदेशसम्मको संगठन निर्माण, पुनर्गठन, भेला, सम्मेलन सम्पन्न गर्ने जनाएको छ ।
यस्तै सदस्यता वितरण गर्ने र त्यसको अभिलेख तयार अवधिमा २ लाख नयाँ सदस्यता वितरण गरिनेछ । जनजीविकाका सन्दर्भमा संघर्षका कार्यक्रम तय गरी हरेक समितिले संघर्षमा जोडिने जानएको छ भने शुल्क निर्धारण, छात्रवृत्ति र पाठ्यक्रम निर्माणका सन्दर्भमा सरोकारवालासँग बृहत् अन्तरक्रियासहित संघर्ष गर्ने पनि अभियानको एजेन्डा रहेको छ । सबै पालिकाहरुले अनिवार्य र नि:शुल्क शिक्षा कार्यान्वयनका लागि जानकारी गराउने जनाएको छ ।
सबै समितिहरुले राजनैतिक बैचारिक प्रशिक्षण संचालन गर्ने र राजनैनिक, वैचारिक, सांगठनिक र संघर्षका कार्यक्रम समेटेर प्रकाशन गर्ने केन्द्रमा संगीन प्रकाशन गर्ने लगायतको विषयलाई अभियानको एजेन्डा बनाइएको छ ।