सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकाले किसानलाई विभिन्न प्रकारका घाँसको बिरुवा वितरण गरेको छ । गाउँपालिकाका अध्यक्ष पार्वती सुनुवारको सक्रियतामा मंगलबार १५ सय कृषकलाई बिरुवा र बेर्ना वितरण गरिएको हो ।
फिक्कल गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामूहिक सरोकार समाज सिन्धुलीद्वारा गाउँपालिकामा सञ्चालित साझेदारीमा कृषि तथा पशुपालन उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत हिउँदे तथा बहुवर्षे बिरुवा र बेर्ना वितरण गरिएको हो ।
मंगलबार असार २८ गते गाउँपालिका अध्यक्ष सुनुवारको प्रमुख आतिथ्यमा मूल, समूह, बहिनी समूह, ब्लक समिति र व्यावसायिक कृषहरूलाई वर्षे घाँसको बिउ र बेर्ना वितरण गरिएको छ ।
किम्बु, वडहर, मेन्दोला, भटमासे, इन्दु, इपिल, अम्रिसो, टु सेन्टी, टाँकी र कोइरालो, जामुन, चिउरीलगायतको बिरुवा वितरण गरिएको हो । मंगलबार नै वडा २ र ५ का वडाध्यक्षको उपस्थितिमा बेर्ना तथा बिउ वितरण गरिएको छ । बाँकी १ ,३ र ६ नं वडामा समेत वितरणको तयारी रहेको गाउँपालिकाले जनाएको छ ।