सिन्धुली । मरिण गाउँपालिकामा बुद्धको मूर्ति अनावरण गरिएको छ । बुधबार एक कार्यक्रमबीच मूर्ति अनावरण गरिएको हो । वडा नम्बर ६ का वडाध्यक्ष हर्कवीर माझीको अध्यक्षतामा आयाेजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले मूर्ति अनावरण गर्नुभएको हो ।
विगत ६ महिनादेखि गाउँपालिकाको २५ लाख रुपैयाँ लागतमा १८ फिट अग्लो बुद्ध मूर्ति निर्माण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिकाका अध्यक्ष मोक्तानले धर्म, संस्कार, संस्कृति संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको हिसाबले पनि बुद्धको मूर्ति निर्माण गरिएको बताउनुभयो ।
अध्यक्ष मोक्तानले बुद्धको मूर्ति रहेको स्थानलाई बुद्धपार्क बनाउने तयारीका साथ गाउँपालिका लागेको भन्नुहुँदै थप बजेटका लागि प्रदेश र केन्द्रको पर्यटन मन्त्रालयमा प्रस्ताव लैजाने आश्वासन दिनुभयो । गाउँपालिकाको नाममा रहेको ४ कठ्ठा जमिनमा मूर्ति निर्माण गरिएको र बुद्धपार्कको लागि छिट्टै डिपिआर सुरु गरिने पनि अध्यक्ष मोक्तानले बताउनुभयो ।
अनावरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विमला माझी, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी, सामाजिक शाखा तथा परियोजना फोकल व्यक्ति सुदीप केसी,इलाका प्रहरी कार्यालयका प्रमुख वीरेन्द्र गुरुङ, नेकपा माओवादी केन्द्रका नेता काजिमान थिङ, वडाअध्यक्ष, कर्मचारी ,राजनीतिज्ञ, नागरिकको उपस्थिति थियो ।