काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीकै बीच पार्टीको १४औं महाधिवेशनको प्रक्रिया सुरु गर्नुपरेकाले सामाजिक दुरी कायम गरी सहभागी हुन आग्रह गर्नुभएको छ ।
भिडियो सन्देश सार्वजनिक गर्दै सभापति देउवाले महाधिवेशनअन्तर्गत शुक्रबारबाट सुरु भएको वडा अधिवेशनमा स्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी अधिवेशनमा सहभागी हुन अपिल गर्नुभएको हो ।
देउवाले भन्नुभएको छ, ‘देशभरका साथीभाइहरूलाई लोकतान्त्रिक प्रक्रियाअनुसार सर्वसम्मत वा स्वस्थ प्रतिष्पर्धामार्फत सहभागी हुन अनुरोध गर्दछु, पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धा लोकतन्त्रको सौन्दर्य हाे, स्वस्थ प्रतिष्पर्धाले पार्टीको संगठनमा जग बलियो बनाउने तथा जनजनमा लोकतन्त्रको रक्तसंचार गर्छ ।'
‘आज म निकै खुशी छु, ८ लाखभन्दा बढी नेपाली कांग्रेसका क्रियाशील सदस्य आजदेखि १४औँ महाधिवेशको प्रक्रियामा सहभागी हुनुभएको छ र मैले ति सबै सदस्यहरू र नेतृत्वको जोश, जाँगर र साथको अनुभूति यतिबेला गरिरहेको छु,’ देउवाले अपिलमा भन्नुभएको छ, ‘लोकतन्त्रको पर्यायकाे रूपमा रहेको हाम्रो पार्टी नेपाली कांग्रेस लोकतान्त्रिक अभ्यासमा सधैं आफूलाई अग्रणी सावित गर्दै आएको छ, नेपालका हरेक राजनीतिक आन्दोलको नेतृत्वमा गर्दै पार्टीको आन्तरिक लोकतन्त्रमा पनि अग्रणी छ ।’
संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न काग्रेसलाई बलियो बनाउन जरुरी रहेको औंल्याउँदै देउवाले बलियो कांग्रेसबाट मात्रै समग्र देशको विकास सम्भव रहेको पनि सन्देशमा उल्लेख गर्नुभएको छ । कांग्रेसको शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ ।
महाधिवेशन कार्यतालिकामा १८ भदौमा सबै वडामा शुक्रबार अधिवेशन गर्ने भनिएको थियो । तर, ४५ जिल्लाका वडामा मात्र शुक्रबार अधिवेशन हुने भएको हो । सबै जिल्लाका क्रियाशील सदस्यको विवरण सार्वजनिक भइनसकेकाले शुक्रबार सबै वडामा अधिवेशन नहुने निर्वाचन समितिले जनाएको छ ।
२६ भदौ पहिले नै वडा अधिवेशन सम्पन्न गर्ने कांग्रेसको तयारी छ । भदौ २७ गते पालिकाको अधिवेशन तोकिएको छ ।