गण्डकी ।
“जम्मा हुन्छन् किसानगण यी बीज मानो छरेर
देख्छन् होला मधुर सपना काम राम्रो गरेर ।
खन्छन् जोत्छन् जमिन सबले घामपानी सहेर
हाम्रो यस्तो श्रम र पसिना फल्छ जाँदैन खेर ।।”
कवि वासुदेव पाण्डेयको प्रकृतिपरक कविता सङ्ग्रह ‘दुलही’ को सम्झनामा असार शीर्षकको कवितामा भनेजस्तै नेपालमा असार महिनालाई मानो खाएर मुरी उब्जाउने समयका रुपमा लिने गरिएको छ ।
श्रम र पसिना खर्चेर उत्पादनमा जोड दिने किसान भने समस्या नै समस्यामा अल्झिनुपर्ने विवशता यतिखेर गम्भीर चुनौतीको विषय बनेको छ । कृषिको आधुनिकीकरणको अभावमा अझै पनि निर्वाहमुखी कृषि पेशा अँगाल्नुपर्ने बाध्यताका साथै प्रत्येक वर्ष मल र बीउ नपाएर भौतारिनुपर्ने समस्याले आम किसान ग्रस्त भएकोे अगुवा किसान हरिप्रसाद आचार्य बताउनुहुन्छ ।
संरक्षणको अभावमा रैथाने प्रजातीका धान लोप भइसकेको र रोपाइँको समयमा कृषि मल नपाउँदा त्यसले उत्पादनमा पनि ह्रास आउने गरेको उहाँ बताउनुहुन्छ ।
“असारको अन्त्यसम्म आइपुग्दा रासायनिक मलको अभावले रोपिएका खेतमा पनि मल राम्रोसँग राख्न पाइएको छैन”, कुर्लिङ बराह किसान समूहका अध्यक्षसमेत रहनुभएका आचार्य भन्नुहुन्छ, “दुःख गरेर उत्पादन गर्ने काममा लागेका किसानलाई रोप्ने बेलामा मलको अभाव हुनु जटिल विषय हो, यसबारे राज्यले सोच्नु जरुरी छ ।”
पछिल्ला समयमा घडेरी बनाउने नाममा धान खेत मासिँदै गएको र रोप्ने खेतमा पनि समयमा मल बीउ नपाउँदा समस्या पर्ने गरेको उहाँ बताउनुहुन्छ । पछिल्ला वर्षमा कास्की र आसपासका क्षेत्रमा लगाउने गरिएका रैथाने जातका धान लोप हुँदै गएको छ । “कास्कीको सुरौदी र आसपासका क्षेत्रमा विगतमा लगाउने गरिएको मगमग बास्ना आउने रमनी धानको बीउ अहिले पाउन सकिदैन”, कृषक आचार्य भन्नुहुन्छ, “पछिल्ला वर्षमा यहाँ पाइने ढावे गौरिया, वीरेनफूल, कृष्णबौ, चोभोजस्ता धानका बीउ हराइसकेका छन् ।”
तालैतालले भरिएका कास्की जिल्लाका अधिकांश स्थानमा पाइने जङ्गली धान नाभो लोप भइसकेको यहाँका स्थानीयवासी बताउँछन् । धानको अति प्राचीन प्रजाति नाभोबाटै विस्तारै अन्य धानको विकास भएको विश्वासका आधारमा यसलाई धानको जननी मानिन्छ । पछिल्ला वर्षमा रासायनिक मलको बढ्दो प्रयोगसँगै धानमा रहेका मौलिक गुण पनि हराउँदै गएको सम्बद्ध किसानको गुनासो छ । झण्डै डेढदशक अघिसम्म सुरौदी, मालमूल, कुडहर, विरौटालगायत स्थानमा फल्ने गरेका पहेँले, जेठोबुढोलगायत बास्नादार धानमा अहिले भने बास्ना आउन छोडेको उनीहरु बताउँछन् ।
रासायनिक मलको बढ्दो प्रयोगसँगै उत्पादन बढाउने नाममा वर्णशङ्र जातका धानको बीउ बढी प्रयोग हुनाले रैथाने जात हराउँदै गएको अर्का किसान भवानी सुवेदी बताउनुहुन्छ । स्थानीय किसानका अनुसार पछिल्ला वर्षमा गौरिया, बिरम्फूल, आँगा, रमनी, रुदुवा मार्सीजस्ता धान देखिन छोडेको छ । नयाँ जातका धानको आगमनसँगै परम्परागत रुपमा रोपिने पोखरेली मसिनो (पहेँले), मनसरा, ठिमाहा, ताकमारे, खोलेमार्सी, आँपझुत्ते, झिनुवा, अनदी, गुर्दी, मानामुरी, कन्जीरा, मन्सुली, तौली, खाल्टेखोले, गोला, कोदे, गुडुरा, जर्नेली, गौरिया, बर्मेली, एक्लेजस्ता धान विस्थापित हुने अवस्थामा पुगेका छन् ।
कम उचाइमा हुने गरेका काठे गुर्दी, तौली, फालो, पहेँले, लहरे गुर्दी, घैया, कालो झिनुवा, माला, विमरफुल, भट्टे, अँधेरे, काँडे, कालो बयर्नी, कालो अनदीलगायत धान पनि पछिल्लो समय विस्थापित भइसकेका छन् । पछिल्ला समयमा कास्कीका अधिकांश स्थानमा सुधारिएको जेठोबूढो, खुमल, राधा सात, राधा नौ, सावित्री, मनसुली, पहेँंलेजस्ता धान धेरै मात्रामा रोप्ने गरिएको छ ।
रैथाने प्रजाती हराउनाका साथै कृषिमा इच्छा राख्नेले समयमा मल तथा बीउ नपाउनु पनि कृषि क्षेत्रको ठूलै समस्याका रुपमा देखापरेको छ । यस वर्ष पनि कास्कीका अधिकांश स्थानमा जेठको तेस्रो साताबाटै रोपाइँ थालिए पनि असार मसान्तसम्म पनि मलको अभाव नै रहेको किसान आचार्यको भनाइ छ । राम्रो उत्पादनका लागि मल आवश्यक भए पनि त्यसलाई सहज रुपमा पाउन नसक्दा किसान चिन्तित बनेको उहाँ बताउनुहुन्छ । विशेषतः धान रोप्ने बेलामा डिएपी र पोटासजस्ता कृषि मल भण्डारण गर्नु आवश्यक हुने पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरियाको भनाइ छ । उत्पादन बढाउनका लागि ती मल रोप्ने बेलामा छर्नुपर्ने भए पनि सहज रुपमा प्राप्त हुन नसक्दा किसान समस्यामा परेको उहाँ बताउनुहुन्छ ।