काठमाडाैं । सरकारले बिलासी बस्तुको आयात प्रतिबन्धको समयलाई भदौ १४ गतेसम्म थप गरेकाे छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पैठारी ऐन २०१३ बमोजिम ४४ दिनसम्मका लागि प्रतिबन्ध थप गरेको हो।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वाणिज्य मन्त्रालयको प्रस्तावमा यसअघि लगाउँदै आएको आयात प्रतिबन्धको म्यादलाई भदौ १४ सम्म थप्ने निर्णय गरेको हो ।
जसअनुसार कुरकुरे, कुरमुरे, लेज, औद्योगिक कच्चा पदार्थ बाहेक सबै प्रकारका मदिरा, औद्योगिक कच्चा पदार्थ बाहेक चुरोट सुर्तिजन्य पदार्थ, हिरा र ३ सय अमेरिकी डलर भन्दा बढीको स्मार्ट फोन ल्याउन प्रतिबन्ध लगाएको छ ।
मन्त्रालयको सूचनामा ३२ इन्च भन्दा बढीको रंगिन टीभी, जीप कार भ्यान, १ सय ५० सीसी भन्दा बढीका सबैखाले मोटरसाइकललगायतका बिलासी बस्तुको सामानमा पनि प्रतिबन्ध कायम छ ।
मन्त्रालयले वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न वस्तुमा चालु वर्षको अन्त्यसम्म आयात प्रतिबन्ध लगाएको थियो । सरकारकाे पछिल्लो निर्णयले उक्त प्रतिबन्धलाई ४४ दिन थप गरेको हो।
अब १ सय ५० सिसिसम्मको मोटरसाइकल आयात भने खुल्ला गरेको छ ।