काठमाडौं । पूर्वसहमतिअनुसार बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रमा पूर्वाधार विकासका लागि बजेट नछुट्याइएको भन्दै सरोकारवालाले नवनियुक्त सहरी विकासमन्त्री मेटमणि चौधरीको ध्यानाकर्षण गराउनुभएको छ ।
नुवाकोटबाट निर्वाचित प्रतिनिधिसभाका सांसद हितबहादुर तामाङ, वाग्मती प्रदेश उपसभामुख राधिका तामाङ, बेलकोटगढी नगरपालिकाका मेयर जगतबहादुर गुरुङ (जगत लामा), ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङसहितको टोलीले बुधबार मन्त्री चौधरीलाई भेटेर तत्काल बजेट व्यवस्था गर्न माग गरेको हो ।
तत्कालीन सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसहित सरोकारवाला निकायबीच काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनसम्बन्धमा आर्थिक वर्ष २०७९/८० को बजेटमा ककनीको प्रभावित क्षेत्रका लागि करिब २० करोड छुट्याउने प्रतिबद्धता भएको थियो । उक्त सहमति कार्यान्वयन नभएकोले तत्काल गाउँपालिकाले तोकेको सडक आयोजनामा बजेट व्यवस्था गर्न माग राखेको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिनुभयो ।
बेलकोटगढी नगरपालिकाका मेयर गुरुङले पुर्वाधार विकासमा मन्त्रालयको सहयोगको अपेक्षा रहेको बताउँनुभयो । उहाँले बन्चरे र सिसडोलको समस्या ककनी र धुनिवेशीको मात्रै नभई बेलकोटगढीको पनि समस्या भएको बताउँनुहुँर्दै फोहोर व्यवस्थापनका क्रममा हुने विविध छलफल र सम्झौतामा बेलकोटगढी विगतदेखि नै छुटेको भन्दै अब यस्तो विभेदको अन्त्य हुनपर्ने बताउँनु भयो ।
सांसद हितबहादुर तामाङले फोहोर व्यवस्थापनको जिम्मेवारी सरकारको तर्फबाट सहरी विकास मन्त्रालयले लिएको अवस्थामा कुनै व्यक्ति, मन्त्रालय र निकायको मात्र कर्तव्य नभनी राज्यको दायित्वको रुपमा फोहोर प्रभावित क्षेत्रको जुनसुकै समस्यामा मन्त्रालय जिम्मेवार भई समाधानमा साथ दिनुपर्नेमा जोड दिनुभएको थियो । अध्यक्ष तामाङले सहमति कार्यान्वयन नभए प्रभावित क्षेत्रका जनता पुन: आन्दोलनमा उत्रिने अवस्था रहेको मन्त्री चौधरीसमक्ष राख्नुभएको थियो ।
यसैगरी वडाध्यक्ष धननाथ बजगाईंले पनि सहमति गर्ने तर कार्यान्वयन नगरेर बारम्बार धोका दिइरहे सधैंका लागि फोहरमैला लान बन्द गर्ने चेतावनी दिनुभएको थियो । जवाफमा मन्त्री चौधरीले विगतको सहमतिमात्र नभई भविष्यमा आउने सबै समस्या र मागहरु पूरा गरेर जाने आश्वासन दिनुभयो । उहाँले फोहोर व्यवस्थापनको समस्या सधैंका लागि समाधान गर्ने गरी नयाँ रणनीतिका साथ मन्त्रालयले तयारी गरेको बताएको पनि अध्यक्ष तामाङले जानकारी दिनुभयो ।