काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्रप्रसाद श्रेष्ठले पार्टीप्रति असन्तुष्ट पक्षले वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भने पनि त्यो सम्भव नहुने बताउनुभएको छ ।
काठमाडौंको ढल्कोस्थित शनिबार जसपा काठमाडौं जिल्ला कार्यालय उद्घाटनपछि वरिष्ठ नेता श्रेष्ठले पार्टीबाट अलग्गिन खोजिरहेका बाबुराम भट्टराई, महिन्द्र राय यादव लगायतलाई इंगित गर्दै वैकल्पिक शक्ति निर्माण गर्छु भने पनि त्यो सम्भव नहुने बताउनुभएको हो । 'अहिले नयाँ विकल्प निर्माण गर्छु भनेर फेरि हिँड्नु भा'छ । त्यो पार लाग्ने कुरा हैन । विगतमा पनि हामीले हेरिसकेका छौं, समय समयमा यस्ता गलत प्रवृत्तिहरु आउँछन्' उहाँले भन्नुभयो ।
प्रतिनिधिसभाका सांसदसमेत रहनुभएका मन्त्री श्रेष्ठले पार्टीमा अन्तरविरोधका बीच वैकल्पिक राजनीतिक शक्ति निर्माणमा अप्ठ्यारो पर्ने गरेको पनि बताउनुभयो । 'हामीले एकीकरण र ध्रुविकरणको क्रममा ठीक काम गर्छु भनेका हुन्छौं । पार्टीलाई वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्छौं भन्यौ । तर आफूभित्रै अन्तरविरोध भएपछि त्यो बाटो बन्दो रहेनछ,' उहाँको भनाइ थियो ।
पार्टमा आफूहरुले अनुशासन, विधि नतोडेको दाबी गर्नुहुँदै मन्त्री श्रेष्ठले जसले बाटो बिराएर, अनुशासनरुपी दाम्लो चुँडाएर हिँडे उनीहरुले नै त्यसको जिम्मेवारी लिनुपर्ने धारणा राख्नुभयो ।
'अहिले हाम्रो पार्टीमा समस्याहरु आएका छन् । त्यसलाई हामीले गम्भीरताका साथ लिएर समस्या समाधान गर्ने हिसाबले जानुपर्छ । हामीले कहींकतै पनि अनुशासन तोडेका छैनौं । विधि तोडेका छैनौं । तर कहिलकाहीं दाम्लो चुँडाएर पनि मानिसहरु हिँड्छन् । दाम्लो चुँडाएर हिँड्छ भने सम्पूर्ण जिममेवारी हामीले लिने होइन,' उहाँको भनाइ थियो, 'जसले दाम्लो चुँडाएर हिँड्छ उहाँहरुको जिम्मेवारी हो । पार्टीमा सबैलाई समेटेर जान खोजेका छौं । तर कहिलेकाहीं सबैजना सँगै जान्छु भन्दा हुँदैन रछ ।'
ढल्कोस्थित शनिबार एक कार्यक्रमबीच रिवन काटेर जसपा काठमाडौं जिल्ला समन्वय समिति कार्यालय उद्घाटन गर्नुभएको हो । उक्त भवनमा काठमाडौं निर्वाचन क्षेत्र नं ७ को कार्यालयलगायतलाई व्यवस्थापन गरिने जनाइएको छ । साथै आजैदेखि कार्यालयको कामसँगै आगामी संघीय निर्वाचनका लागि तयारी अगाडि बढाउने जसपा काठमाडौं जिल्लाले जनाएको छ ।