काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा गठबन्धन गर्दा सबैलाई न्यायोजित होस् भनेर प्रयास भइरहेको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ९ औं स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडा, कोटेश्वरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचनबाट शिक्षा लिएर प्रदेश र संघको निर्वाचनमा गठबन्धन वा तालमेल सबैलाई न्याय हुने किसिमको गराउन बल गरिरहेको बताउनुभएको हो ।
'हामी प्रदेश र संघको निर्वाचनमा छौं । सकेसम्म विचार, मुद्दा मिल्नेहरुबीचमा सहकार्य राम्रो होस् । गठबन्धनभित्र पनि न्यायोचितरुपले गठबन्धन होस् । तालमेल होस्र भनेर पनि बल गरिया छ । जो मुद्दामा निकट छन् उनीहरुसँग झन् निकट सम्बन्ध होस् भनेर कोसिस गरिएको छ ।' अध्यक्ष प्रचण्डले गणतन्त्र, संघीयता, संविधानसभाबाट संविधान जारी गराउन माओवादीको मुख्य भूमिका र संघर्ष रहेकोले आफ्नो पार्टीले देशको नेतृत्व नगरेसम्म ती विषयको स्थायित्वमा समस्या आइरहने बताउनुभयो ।
उहाँले पछाडि पारिएका र परेका वर्ग समुदायको पहिचान र अधिकारका लागि पनि माओवादी केन्द्र बलियो हुनुपर्नेमा जोड दिनुभयो । 'माओवादी केन्द्र बलियो नभइकन उत्पीडित वर्ग, क्षेत्र, लिंग, समुदायका पहिचान र अधिकार या उनीहरुका उन्मुक्तिका कुरा पूरा हुँदैनन् । त्यसैले हामी सबैले आउने ३/४ महिना हामी सबैले मेहनत गर्नुछ । धेरै मेहनत गरेर जनतासँग जोडिनु छ । जनतालाई कुरा भन्नु छ, बुझाउनुपछ । हामीले हिजो र अहिले सरकारमा बसेर गरेका राम्रा काम जनतालाई बुझाउनुछ,' उहाँले भन्नुभयो ।