हेटौंडा । वाग्मती प्रदेशमा पनि अन्तर्राष्ट्रिय युवा दिवस मनाइने भएको छ । वाग्मती प्रदेश युवा परिषद्को सोमबार बसेको बैठकले परिषद् अध्यक्ष रहनुभएका प्रदेशका युवा तथा खेलकुदमन्त्री अध्यक्ष रत्नप्रसाद ढकालको संयोजकत्वमा १०१ सदस्यीय मूल समारोह समिति गठन गर्ने निर्णय गरेको हो ।
अगस्ट १२ तारिखमा पर्ने युवा दिवसको अवसरमा यही साउन २४ देखि ३० गतेसम्म विभिन्न कार्यक्रम आयोजना गरिने परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंले बताउनुभयो । उहाँका अनुसार बैठकले गैर सरकारी संस्था महासंघ, नेपाल स्काउट, राजनीतिक दलका युवा–विद्यार्थी संगठन, जिल्ला युवा समितिका अध्यक्षहरु, रिकभरीङ नेपाल प्रदेश कमिटी, रेडक्रसलगायत संस्थाको प्रतिनिधित्व रहने गरी सचिवालय पनि गठन गर्ने निर्णय गरेको छ ।
दिवसको अवसरमा साउन २४ गते वृक्षारोपण, २५ गते रक्तदान, २६ गते खुला साइक्लिङ कार्यक्रम राखिएको छ । यस्तै, २७ गते प्रभातफेरी, २८ गते पर्यटन प्रवर्द्धन पदयात्रा, २९ गते सरसफाई कार्यक्रम हुनेछन् । साउन ३० गते 'अन्तरपुस्ता ऐक्यबद्धताः सबै उमेर समूहमैत्री विश्व निर्माणमा साँझ प्रतिबद्धता' भन्ने शीर्षकमा वाग्मती प्रदेश सरकार युवा तथा खेलकुदमन्त्रीसँग युवा अन्तरक्रिया कार्यक्रम राखिएको उपाध्यक्ष चौंलागाईंले बताउनुभयो ।
युवाका मुद्दा र सवाललाई सम्बोधन गर्ने अभिप्रायले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने गरिन्छ । विश्वका विभिन्न देशका युवा विषय हेर्ने मन्त्रीहरुको सम्मेलनको सिफारिसअनुसार १७ डिसेम्बर १९९९ मा सम्पन्न संयुक्त राष्ट्रसंघको ५४ औं साधारणसभाले अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसको रुपमा मनाउने घोषणा गरेको हो ।