काठमाडौं । पदयात्रा व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को आगामी नेतृत्वका लागि ४ जना दाबेदार देखिएका छन् । प्रमुख राजनीतिक दल निकट र स्वतन्त्रले समेत टानको अध्यक्षका लागि दाबीदारी प्रस्तुत गरेका हुन् ।
नेपाली कांग्रेस निकट सोलुखुम्बुका निलहरि बास्तोलाले टानको आगामी नेतृत्व लिने चाहना राख्नुभएको छ । उहाँ टानका पूर्वउपाध्यक्ष हुनुहुन्छ । नेकपा एमाले निकट धादिङका राजेन्द्र सापकोटाले पनि अध्यक्षमा उम्मेदवारी दिने तयारी गर्नुभएको छ ।
नेकपा माओवादी निकट धादिङका कमल सापकोटाले पनि टानको अध्यक्षका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । सँगै टानका वर्तमान महासचिव माओवादी निकट नै मानिनुहुने रामेछापकी सरिता लामाले पनि सामाजिक सञ्जालमार्फत टानको अध्यक्षमा उम्मेदवारीको घोषणा गर्नुभए पनि अहिले उहाँ ब्याक हुनुभएको छ । उहाँले अब कमल सापकोटालाई नै समर्थन गर्नेमा पुग्नुभएको छ । कास्कीका बोधराज भण्डारीले पनि स्वतन्त्रतर्फ उम्मेदवारी दिनुहुने चर्चा चलिरहेको छ ।
यही साउन ३० गते हुने टानको निर्वाचनमा सत्तारुढ कांग्रेस, माओवादी सम्बद्ध गठबन्धन भत्किने देखिएको छ । टानमा केही कमजोर देखिएको एमाले निकट अध्यक्षका दाबेदार सापकोटाले माओवादी उम्मेदवारलाई समर्थन गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ । वाम गठबन्धन बन्ने सम्भावनालाई मद्दत पुग्नेगरी ग्लोबल मिडियासँग कमल सापकोटाले भन्नुभयो, 'हामीलाई जसले अध्यक्ष दिन्छ, उसैसित गठबन्धन हुन्छ ।'
एमालेको साथ पाए टानको भावी नेतृत्वमा कमल सापकोटा र कांग्रेसका निलहरि बास्तोलाबीच कडा टक्कर पर्ने देखिन्छ ।
अध्यक्षका दाबेदार सापकोटाले टान व्यावसायिक संस्था भएकोले सकेसम्म सहमतिको आधारमा नेतृत्व चयनको प्रयास गरिने बताउनुभयो । उहाँले अहिले व्यक्ति व्यक्तिले उम्मेदवारी दिने घोषणा गरे पनि केही दिनमै प्यानलसहित उम्मेदवारहरुको नाम सार्वजनिक हुने बताउनुभयो ।
टानको निर्वाचनबाट २३ सदस्यीय नयाँ नेतृत्व चयन हुने छ । जसमा ६ जना अध्यक्षबाट मनोनीत हुने व्यवस्था रहेको छ । निवर्तमान अध्यक्ष पनि कार्यसमितिमा रहनेछन् ।
पदाधिकारीहरुमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष छन् ।