धरान । नेपाल तामाङ घेदुङका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोनले घेदुङ दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।
नेपाल तामाङ घेदुङ सुनसरीले धरानमा आयोजना गरेको समसामयिक छलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ उपाध्यक्ष ब्लोनले घेदुङले परम्परागत शैली छोडेर अब नयाँ शैली अपनाउनुपर्नेमा जोड दिनुभएको हो । कार्यक्रमका अन्य वक्ताहरुले घेदुङको विधानबमोजिमको संरचना र संगठनलाई चुस्त/दुरुस्त राख्दै समयसांपेक्ष नीति तथा कार्यक्रम र दीर्घकालीन योजना बनाएर घेदुङ अघि बढ्नु पर्ने धारणा राख्नुभएको थियो ।
घेदुङ स्थापना भएको ६७ वर्ष पुग्दासम्म सांस्कृतिक, भाषिक र धार्मिकजस्ता पहिचानका मुद्दा विद्यमान हुँदा शैक्षिक, राजनीतिक र आर्थिक मुद्दा ओझेलमा परेको भन्नुहुँदै उहाँहरुले यस्ता मुद्दाहरु क्रमशः अन्त्य गर्ने गरी नीति तथा कार्यक्रम र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो ।
नेपाल तामाङ घेदुङ सुनसरीका कार्यवाहक अध्यक्ष बुद्धिबहादुर घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि एवम् वरिष्ठ उपाध्यक्ष ब्लोन, विशेष अतिथि केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले, प्रदेश नं. १ का अध्यक्ष रेखबहादुर घिसिङ, केन्द्रीय सदस्य जानुकला तामाङ, संरक्षक सदस्यद्वय मनु मोक्तान र लक्ष्मण मोक्तान, मोक्तान वंशावली समाजका प्रदेश नं १ का अध्यक्ष हर्क मोक्तान, नेपाल तामाङ महिला घेदुङ सुनसरीका अध्यक्ष विष्णु मोक्तान, तामाङ पत्रकार संघका सुनसरी अध्यक्ष विना मोक्तान, घेदुङका धरान नगर उपाध्यक्ष सपन तामाङलगायतले विचार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन तथा सहजीकरण सुनसरी सचिव मंगलसिंह मोक्तानले गर्नुभएको थियो ।