काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झण्डै २४ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३.८३ अङ्कले उकालो लागेर दुई हजार १११.९९ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.५३ अङ्कले उकालो लागेर ४०२.९२ अङ्कमा पुगेको छ । कूल २२७ कम्पनीको ७५ लाख आठ हजार १८८ कित्ता शेयर तीन अर्ब १६ करोड १४ लाख ५५ हजार १४२ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये बुधबार व्यापार उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट आयो । सो उपसमूहको शेयर मूल्य १२.०४ अङ्कले ओरालो लाग्यो ।
त्यस्तै, बैंकिङ ०.९२, होटल तथा पर्यटन २३.८७, विकास बैंक ५६, जलविद्युत् ७२.३५, वित्त ७५.७४, निर्जीवन बीमा ४३.८, उत्पादन १९.६६, अन्य ३८.९७, लघुवित्त १०७.७३, जीवन बीमा ३४.७९, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.६९ अङ्कले उकालो लागेका छन् ।
बुधबारको कारोबारपछि बजार पुँजीकरण ३० खर्ब १५ अर्ब ७८ करोड ९० लाख १४ हजार ६४९ बराबर पुगेको छ । कारोबारका आधारमा शिवम् सिमेन्ट आज पनि शीर्ष स्थानमा छ ।
सो कम्पनीको १७ करोड ९४ लाख ११ हजार ८०८ बराबरको कारोबार भयो । अरुण काबेली पावर १२ करोड ३५ लाख ४३ हजार ६७६, गुर्खाज फाइनान्स आठ करोड ९२ लाख २१ हजार ७०८, नेष्डो समृद्धि लघुवित्त आठ करोड ४८ लाख ४१ हजार २३६ र युनिभर्सल पावर आठ करोड ४१ लाख चार हजार ६४८ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
नेप्सेका अनुसार उकालो लागेको बजारमा बुधबार तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । ती कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भयो । त्यसमा जानकी फाइनान्स कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर र राष्ट्र उत्थान लघुवित्त छन् ।