काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटाले बालुवाटार जग्गा प्रकरण, वाइडबडी खरिद घोटाला, ७० करोड बार्गेनिङलगायत विषयमा तथ्य प्रमाणले देखाए पनि नेकपा एमालेका सम्बन्धित नेताहरुमाथि छानबिन र कारबाही हुन नदिएको टिप्पणी गर्नुभएको छ ।
संसदीय समितिमा वाइडबडी खरिदमा भ्रष्टाचारका काण्डमा मुछिएका एमालेका तत्कालीन पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारी, बालुवाटारको जग्गा हडपेको आरोपित नेता विष्णु पौडेल, ७० करोड बार्गेनिङ गर्ने गोकुल बास्कोटामाथि अध्यक्ष केपी ओलीकै कारण छानबिन हुन नदिएको बताउनुभएको हो । नेता सापकोटाले तथ्य, प्रमाण भए पनि एमालेले आफ्ना नेताहरु छानबिन गर्न नदिएको भन्दै ती विषयमा एमालेको जवाफ छ भनेर चुनौती पेस गर्नुभएको छ ।
एमालेजन, यी प्रश्नको उत्तर छ ?
१. संसदीय समितिले वाइडबडी ख़रीदमा अनियमितता भएको ठहर गर्दै नामै तोकेर थप छानबिन र कारबाही गर्न तत्कालीन ओली सरकारलाई निर्देशन दिएको थियो । त्यसमध्ये एक रवीन्द्र अधिकारीलाई ओलीले भोलिपल्टै निर्दोष रहेको सार्वजनिक घोषणा गर्दै संसदीय छानबिनको कुनै महत्त्व नरहेको बताएका होइनन् ?
२. ७० करोड बारगेनिंगको अडियो नै सार्वजनिक भएपछि पनि ओलीले नक्कली अडियो भनेर छानबिनसम्म हुन नदिएको होइन ?
३. बालुवाटार जग्गा प्रकरणमा प्रत्यक्ष लाभ लिएका विष्णु पौडेलमाथि छानबिन भयो ? कम्तिमा बालुवाटार किन्न सक्ने हैसियतका उनले नक्कली सुकुम्बासी बनेर सरकारी जग्गा हत्याएको त जगजाहिर नै थियो, कारबाही भयो ?
४. कोरोना महामारीको भयेकर त्रासदीमा यति, ओम्निजस्ता दलालहरूको हातमा अरबौं सुम्पिदा ओलिले छानविनमात्रै पनि गर्न दिए ? यी त प्रमाणित तथ्यहरू होईनन् र ?
माओवादी केन्द्रका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराइएको भन्दै प्रमुख प्रतिपक्षी एमालेका सांसदसहितको संसदीय छानबिन समितिले दोषी करार गर्ने प्रमाण नभेट्टाएपछि सापकोटाले यस्तो चुनौती पेस गर्नुभएको थियो । आव २०७९/८० को बजेट निर्माणका क्रममा जेठ १४ गते मध्यराति अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा छिराएको भन्दै शर्मामाथि आरोप लागेको थियो । उक्त विषयमा छानबिन गर्न प्रतिनिधिसभाले असार २२ गते ११ सदस्यीय संसदीय विशेष समिति गठन गरेपछि शर्माले अर्थमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।
समिति सभापति लक्ष्मणलाल कर्णले शुक्रबार प्रतिनिनिधिसभा बैठकमा पेस गर्नुभएको थियो ।