नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा अवरुद्ध सडक झण्डै ७ घण्टाको अन्तरालमा पहिरो हटाएसँगै सञ्चालनमा ल्याइएको छ ।
आइतबार रातिदेखिको अविरल वर्षापछि दुप्चेश्वर गाउँपालिका ६ स्थित गौंडाको पुल नजिक गोरखटोलमा सडकमाथिबाट पहिरो झर्दा यातायातका साधन सञ्चालन र स्थानीय आवतजात बन्द भएको थियो । बिहान डोजरको सहायतामा सुरक्षाकर्मी, स्थानीय, जनप्रतिनिधिको सक्रियतामा बाटो खुलाइएको गाउँपालिका उपाध्यक्ष माकुरी तामाङले जानकारी दिनुभयो ।
उहाँले ग्लोबल मिडियासँग भन्नुभयो, 'पहिरोले सडक अवरुद्ध भन्ने खबर पाएपछि हामी बिहान ७ बजेतिर पुग्यौं । सोमबार भएकोले दुप्चेश्वर दर्शनका लागि आएका भक्तालु, विद्यार्थी र स्थानीय सडकमा रोकिएका थिए । तत्काल जेसीबी र एक्स्काभेटर प्रयोग गरेर सुरक्षाकर्मी, स्थानीयको सहयोगमा पहिरो हटाउँदा मध्याह्नमात्रै बाटो खुलाउन सक्यौं ।'
सोमबार भएकोले दुप्चेश्वर महादेव दर्शनका काठमाडौंदेखि समेत भक्तजनहरु आएको उपाध्यक्ष तामाङले बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका स्थानीय नेता एवं दुप्चेश्वश्वर-काठमाडौं सम्पर्क मञ्चका उपाध्यक्ष भूपेन्द्र केसीले पहिरोले सडक अवरुद्ध हुँदा दुप्चेश्वर मन्दिर जाने सयौं भक्तालुहरुलाई आवतजावत गर्न कठिन अवस्था सिर्जना भएकोमा दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकरबहादुर थापा, उपाध्यक्ष माकुरी तामाङ, वडा नं ४ का अध्यक्ष ज्ञानबहादुर तामाङलगायतको उपस्थितिमा बाटो खुलाई आवतजावत सहज गराइएको जानकारी दिनुभयो ।
उपाध्यक्ष तामाङका अनुसार ठूलो पानी परेमा फेरि पहिरो झर्न सक्ने सम्भावना रहेकाले उक्त सडक खण्ड भएर आवतजावत गर्दा सतर्कता अपनाउन आग्रहसमेत गर्नुभएको छ ।