अस्ट्रेलिया । नेपाली आदिवासी मञ्च (निन्फा) अस्ट्रेलियाले विभिन्न कार्यक्रमसहित २८ औं विश्व आदिवासी दिवस मनाउँदै छ ।
अस्ट्रेलियन आदिवासी मन्त्री लिन्डा बर्नीको प्रमुख आतिथ्यता र नेपालमा मौलिक गायनमा ख्यातिप्राप्त गायक तथा संगीतकार फूलकुमार बम्जन र गायिका मनु नेम्वाङको प्रस्तुतिसँगै मञ्चले यही अगस्ट ६ तारिखमा कार्यक्रम गर्ने भएको हो । उक्त कार्यक्रमका लागि गायक बम्जन र गायिका नेम्वाङ बुधबार राति नेपालबाट अस्ट्रेलिया प्रस्थान गर्नुहुने भएको छ । उहाँहरुलाई नेपाली आदिवासी मञ्च अस्ट्रेलियाले कार्यक्रमका लागि निमन्त्रणामा गरेको हो ।
नेपाली आदिवासी मञ्च अस्ट्रेलियाका अध्यक्ष अरुण कुमार तामाङको कार्यक्रममा सबैलाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाइने जानकारी दिनुभयो । कार्यक्रम अगस्ट ६ तारिख बेलुकी पाँज बजेदेखि सिड्नीस्थित मेरिकभिल टाउन हल (Marrickville Town Hall) मा हुनेछ ।
साहित्यिक संस्था तामाङ डाजाङका अध्यक्षसमेत रहनुभएका गायक बोम्जनले नेपालमा आदिवासी समुदायको आवाजलाई उठाउँदै गर्दा जातिवाद भयो भन्ने प्रश्नहरू आइरहँदा अस्ट्रेलियाले यो समुदायलाई कसरी हेरेको छ भन्ने बुझ्ने अवसर मिल्ने आशा व्यक्त गर्नुभएको छ । उहाँद्ये आदिवासी आवाजलाई बुलन्द गर्ने, मौलिक कुरा उठाउँदै हिँड्दा नेपालमा स्थान नदिएको अवस्थामा विदेश जान पाउनु भनेको खुसीको कुरा भएको पनि बताउनुभयो ।
ग्लोबल मिडियासँग संक्षिप्त कुराकानीमा उहाँले भन्नुभयो, ‘अस्ट्रेलियामा आदिवासीलाई महत्व दिइन्छ भन्ने सुनेको छु, आदिवासी दिवसको कार्यक्रमले नजिकबाट नियाल्ने मौका मिल्ने भएको छ, आदिवासीका थप कुरा जान्ने अवसर पाउनु मेरो लागि खुसीको कुरा हो, आयोजकलाई धन्यवाद !’ उहाँले तामाङ समुदायको मौलिक भाषा, सभ्यतामा दर्जनौं गीत साहित्य, संगीतका साथै परम्परागत खानपान संस्कृतिको विषयमा कलमसमेत चलाउने गर्नुहुन्छ । यस्तै लिम्बू समुदायको चर्चित गायिका नेम्वाङ पनि लामो समयदेखि मौलिक गीत संगीतमा लागिरहनुभएको छ ।
कार्यक्रममा नेपाली आदिवासी फेसन रनवे, बंगाली आदिवासीको सामूहिक नृत्य, बहुसांगीतिक नृत्य, खानाका स्टलहरुलगायत आकर्षण रहने पनि अध्यक्ष तामाङले जानकारी दिनुभयो ।
संयुक्त राष्ट्र संघको घोषणाअनुसार हरेक वर्ष ९ अगस्टमा विश्व आदिवासी दिवस मनाउने गरिन्छ । यस वर्षको विश्व आदिवासी दिवसमा संयुक्त राष्ट्र संघले 'आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा महिलाको भूमिका' नारा तय गरेको छ । संयुक्त राष्ट्र संघले सन् १९९३लाई विश्व आदिवासी वर्षका रूपमा घोषणा गरेपछि सोही वर्षदेखि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो ।