काठमाडौं । इन्डोनेसियाको जकार्तामा साउन २१ देखि २२ गतेसम्म (अगष्ट ६ र ७) हुने एसिया रग्बी सेभेन्स ट्रफीमा सहभागी हुने नेपाली महिला रग्बी टोलीलाई बिदाई गरिएको छ । बुधबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले सफलताको शुभकामनासहित टोलीलाई बिदाई गरिएको हो ।
प्रतियोगितामा नेपाल, भारत, इन्डोनेसिया, सिंगापुर, युएइ, मंगोलिया र गुवाम गरी सात राष्ट्रले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्ने छन् । एसिया रग्बीमा नेपाली महिला टोलीले चौथोपटक सहभागिता जनाउन लागेको हो । यसअघि नेपाली महिला टोलीले भारत, लाओस र ब्रुनईमा सहभागिता जनाएको थियो । भारतको चेन्नइमा भएको प्रतियोगितामा नेपालले बंगलादेशलाई पराजित गरेको थियो भने ब्रुनईमा नेपालले काजाकिस्तानमाथि जित रचेको थियो ।
प्रतिष्पर्धाका लागि एलिशा थापाको कप्तानीमा बाह्र जना खेलाडीको टोली भोली विहिबार इन्डोनेसिया प्रस्थान गर्नेछ । टोलीमा उपकप्तान सिर्जना राई, सदस्यहरु पञ्चमाया श्रेष्ठ, सावित्री पुर्जा, सविना महर्जन, नानी तामाङ, सुजिना गुरुङ, मनीषा थापा मगर, अप्सरा कार्की, विशाका राई, सर्मिला राई र अपना पौडेल रहेका छन् ।
त्यसै गरी टोली व्यवस्थापक बिनु खड्का, अफिसियल कपिलदेव न्यौपाने, ताइसुके मियाओ र कामना गिरी, प्रशिक्षक विनोद तामाङ तथा फिजियोलोजिष्ट लक्ष्मण अधिकारी पनि टोली संगै इन्डोनेसिया जाने रग्बी संघले जनाएको छ ।