काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री हितबहादुर तामाङले गठबन्धन बन्दा पनि आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा नुवाकोट १ मा आफ्नो दलकै उम्मेदवार हुने दाबी गर्नुभएको छ । स्थानीय तह निर्वाचनमा बनेको सिट बाँडफाँटको मापदण्ड र माओवादीको प्रभाव क्षेत्रका हिसाबले माओवादीकै उम्मेदवार हुने उहाँको तर्क छ ।
प्रतिनिधिसभाका सांसद तामाङले बुधबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिनुहुँदै जिल्लाको शक्ति विन्यासको हिसाबले हेर्दा पनि माओवादी केन्द्र तुलनात्मक रुपमा त्यही क्षेत्रमा बलियो देखिएकोले नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ मा माओवादी केन्द्रको उम्मेदवार हुने बताउनुभएको हो । 'स्थानीय तहमा पनि एक खालको मापदण्ड बनाएका थियौं । अब पनि आधार बनाइन्छ । त्यो आधार भनेको जसले जहाँ जितिराखेको छ, त्यहाँको उम्मेदवार त्यही दलको हुन्छ । जहाँ गठबन्धन दलका छैनन्, एमाले या अरु कुनै दलले जितिराखेको क्षेत्रमा चाहिँ ०७४ को निर्वाचनमा जुन दल दोस्रो भएको थियो, त्यही दलको उम्मेदवार बन्ने कुरा हुन्छ,' उहाँको भनाइ थियो, 'त्यो हिसाबमा नुवाकोट क्षेत्र नं १ मेरो संघीय निर्वाचन क्षेत्र । जहाँ नेकपा माओवादी केन्द्रको तर्फबाट मैले जितेको छु । र, त्यो क्षेत्रमा माओवादी केन्द्रकै उम्मेदवार हुन्छ ।' उम्मेदवार को बन्ने भन्नेबारेमा भने पार्टीले तय गर्ने उहाँको भनाइ थियो । 'मै उम्मेदवार हुन्छु त नभनौं । दलले जसलाई पनि उठाउन सक्छ ।'
संघीय व्यवस्थाले जनतालाई दिएको सेवासुविधा, आफू निर्वाचित भएपछिको विकास र कानुन निर्माण, कमीकमजोरी भएको रहेछ भने आत्मालोचना गर्न तत्पर भएर आउँदो निर्वाचनमा जनतामा जान चाहेको पनि उहाँले जानकारी दिनुभयो । 'हामीले जित्नु अघि मुलुकमा अर्कै व्यवस्था थियो । अहिले संघीय व्यवस्था अनुसार तीन तहको सरकार छन् । यसको भूमिका र औचित्यबारे जनतालाई वास्तविकता बुझाउनु पर्नेछ । बुझाउन नसक्दा संघीय सांसदले केही नगरेजस्तो जनतामा भान परेको छ । संघीय सांसदहरु नीति निर्माणमा सीमित भएको जस्तो भयो हुनुपर्ने त्यही हो । विकास निर्माणको कुरामा प्रदेश र स्थानीय तहले गर्नुपर्छ । त्यही विषय जनताले नबुझेर हाम्रो भूमिकालाई गौण ठान्ने स्थिति सिर्जना भएको छ । यसलाई बुझाउनु पर्छ । कमी कमजोरी गरेको छ भने जनतालाई सत्य तथ्य बुझाउने हुन्छ । आत्मालोचित पनि हुनुपर्छ,' उहाँको भनाइ थियो ।
वर्तमान सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्रका प्रभावशाली नेताहरु भएको नुवाकोट क्षेत्र नम्बर १ मा कुन पार्टीले टिकट लिने भन्ने तँछाडमछाड हुने देखिएको छ । स्थानीय तह निर्वाचनमा पनि शक्ति संघर्षका कारण उक्त क्षेत्रका पालिकाहरुमा एक्ला एक्लै प्रतिस्पर्धामा उत्रिएका थिए ।
कांग्रेसका प्रभावशाली भनिएका नेताहरु रामशरण महत, प्रकाशरण महतको गृहपालिका पञ्चकन्यामै माओवादी केन्द्रका उम्मेदवारले दोस्रो पटक जितेका छन् । अघिल्लो निर्वाचनमा पञ्चकन्या र ककनीमा जित हात पारेको माओवादीले यसपालि दुप्चेश्वरमा पनि जित हात पारेको छ ।