नुवाकोट । बोक्सीको आरोपमा पटक-पटक दुर्व्यवहार भोग्दै आएकी नुवाकोट दुप्चेश्वर गाउँपालिकाकी एक महिलालाई सुरक्षितरुपमा घरमै बस्ने वातावरणका लागि स्थानीयबीच प्रतिबद्धता गराइएको छ ।
दुप्चेश्वर १ घ्याङफेदीस्थित घ्याङडाँडाका स्व. पेम्बा तामाङकी श्रीमतीलाई स्थानीय केही व्यक्तिहरुले बोक्सीको आरोपमा दुर्व्यवहार गरेर आफ्नो घरमा समेत बस्न नसक्ने स्थिति सिर्जना गराएको थियो । दुर्व्यवहारमा संलग्न भनिएका छिमेकी सूर्यबहादुर तामाङलगायत ५ आरोपित फरार छन् ।
दुप्चेश्वर गाउँपालिका अध्यक्ष शंकरबहादुर थापा, वडा नं १ का वडाध्यक्ष सीताराम तामाङ, ईलाका प्रहरी कार्यालय खरानीटारका हवल्दार कृष्ण खत्री, समुन्द्रटार प्रहरी चौकीका हवल्दार, स्थानीयको उपस्थितिमा बिहीबार सामाजिक मेलमिलाप र सद्भावका लागि वातावरण मिलाइएको अध्यक्ष थापाका सहयोगी भूपेन्द्र केसीले जानकारी दिनुभयो । उहाँका अनुसार फराररहेकाहरुको खोजी गरी कानुनअनुसार कारबाही गर्ने विश्वास सुरक्षाकर्मीले दिलाएका छन् ।
आगामी दिनमा यस्ता घरेलु हिंसा हुन नदिनका लागि संविधानको व्यवस्थाअनुरुप कानुनी व्यवस्थाका बारेमा प्रशिक्षित गराइएको र यसलाई निरन्तरता दिने पनि सम्बन्धित निकायहरुले बताएका छन् ।
घटना के हो ?
कमजोर आर्थिक अवस्था भएका पेम्बा तामाङको परिवारको बसोबास दुप्चेश्वर १ घ्याङडाँडामा । आफ्नो दैनिकी गरेर बस्दा पनि तीन छोराछोरीकी आमालाई छिमेकी सूर्यबहादुर तामाङलगायतले पटक पटक बोक्सीको आरोप लगाइरहन्थे । पछिल्लो समयमा मानसिक तनावमात्रै होइन, कुटपिट र ज्यान मार्ने धम्कीसमेत खप्नुपर्यो ती महिलाले । सामाजिक हिंसा सहन नसकेर करिब ३५ वर्षीया महिला परिवारै लिएर दुई हप्ताअघिदेखि बजार क्षेत्र समुद्रटारमा बस्न थाल्नुभयो ।
महिलाको घरको खम्बारुपी पेम्बालाई रोगले च्याप्यो । उपचारका लागि काठमाडौंमा पुर्याइएका पेम्बाको दुई हप्ताअघि निधन भयो । श्रीमान्को निधन भएपछि काजकिरिया गर्न पुरानै थातथलो पुग्नुभएकी महिलालाई उही धम्की र दुर्व्यवहार दोहोरियो । महिलाले अब त कति सहनु भन्ने सोचले प्रहरीमा उजुरी दिनुभयो । त्यसपछि बिहीबार स्थानीय सरकार प्रमुख शंकरबहादुर थापासहित प्रहरी घ्याङडाँडाँ पुग्नुभएको हो । स्थानीय सरकार, प्रहरी र स्थानीय बासिन्दाले महिलालाई ससम्मान आफ्नै घरमा बस्ने वातावरणका लागि समझदारी बनाएको थापाका सहयोगी केसीले बताउनुभएको छ ।