भक्तपुर । नगरकोटमा तीन दिने पत्रकारिता तालिम सम्पन्न भएको छ । २८ औं तामाङ प्रसारण दिवसको अवसरमा तामाङ पत्रकार संघ भक्तपुर शाखाको आयोजनामा साउन २० देखि २२ सम्म भएको तालिममा उद्घोषण, व्यक्तित्व विकास, छापा र अनलाइन पत्रकारिताको बारेमा कक्षा संचालन गराइएको थियो ।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथि वाग्मती प्रदेशका उपभामुख राधिका तामाङले सत्य र तथ्यको आधारमा पत्रकारिता हुनुपर्ने बताउनुभयो । समाज परिवर्तनमा संचार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै उहाँले संचार क्षेत्र र पत्रकारले पनि त्यसै अनुरुप सूचना प्रवाह गर्नुपर्ने बताउनुभयो ।
तालिममा सहभागीलाई प्रमुख अतिथि उपसभामुख तामाङ प्रमाणपत्र वितरण गर्नुभएको थियो । तीन दिने तालिममा प्रशिक्षकको भूमिकामा वरिष्ठ पत्रकार अमरध्वज लामा, उद्घोषण प्रशिक्षक विकास लामा हुनुहुन्थ्यो । तालिममा विभिन्न जिल्लाबाट २३ जना सहभागि रहेका थिए ।
तालिममा सहभागि प्रशिक्षार्थी सबिता घिसिङले तीन दिनको प्रशिक्षणले आफू पहिलो पटक माइक समातेर बोल्न सक्ने भएको अनुभूति सुनाउनु भयो । अर्का प्रशिक्षार्थी फुर्वा दोर्जे लामाले तालिम उपलब्धिपूर्ण रहेको भन्दै यसप्रकारका तालिमहरु सरकारको तर्फबाट नै संचालन गर्नुपर्ने बताउनुभयो ।
शाखा अध्यक्ष सुदिन दोङको अध्यक्षतामा भएको समापन कार्यक्रममा तामाङ राष्ट्रिय घेदुङका महासचिव प्रविण बल, नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य हिरालाल दोङ, तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङ, तामाङ पत्रकार संघका महासचिव तिर्थमान बल, नायक अमिर दोङ लगायतको उपस्थिति रहेको थियो ।