नुवाकोट । मंगलबार रातिको अविरल भीषण वर्षाले नुवाकोट र रसुवाका विभिन्न क्षेत्रमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
नुवाकोटको लिखु गाउँपालिका १ ढिकुरे बजार नजिकको पुलमा पहिरो खस्दा टोखा-छहरे-त्रिशूली सवारी आवागमन बन्द रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी रुपक खड्काले जानकारी दिनुभयो । पहिरो मर्मतको काम जारी रहेकोले यातायातका साधनलाई गल्छीतर्फ डाइभर्सन गरिएको उहाँले बताउनुभयो ।
यस्तै दुप्चेश्वर गाउँपालिका ६ सिम्लेस्थित बुद्धभूमि हाइड्रो पावरमा फसेका ३ कामदारको सकुशल उद्धार गरिएको छ । बिहान पानीको बहाव बढी भएकोले उद्धारमा ढिला भएको डिएसपी खड्काको भनाइ छ । उहाँका अनुसार हाइड्रोपावरको ड्याममा क्षति पुगेकोले विद्युत् आपूर्ति बन्द छ ।
बुद्वभूमि हाइड्रोपावरको मुहानमा रहेको कन्ट्रोलरुममा फसेका कर्मचारीहरुमा दुप्चेश्वर ६ का निशान्त लामा, तादी ४ का बद्री मैनाली र एक जना भारतीय नगरिक रहेको स्थानीय भूपेन्द्र केसीले जानकारी दिनुभयो ।
यस्तै जिल्लाको क्षेत्र नं १ को दुप्चेश्वर गाउँपालिका ३ राउतबेंसी, तादी गाउँपालिका ४ सातबिसे र पञ्चकन्या ४ थप्रेक जोड्ने पक्की पुल, पञ्चकन्या २ आप्रह र तादी ५ वाहुनबेंसी जोड्ने पक्की पुल र पञ्चकन्या १ को सिमारा फाँट तथा लिखु गाउँपालिका ३ सुर्यमति र १ ढिकुरे बजार जोड्ने पक्की पुलमा क्षति पुर्याएको स्थानीय डीपी कार्कीले पनि बताउनुभयो ।
रसुवाको तिरतिरे भन्ने भिरको पहिरोमा लेदो झर्दा बाटो अवरुद्ध भएको थियो । डोजरको सहायताले लेदो पन्छाएर अहिले बाटो खुलाइसकेको डिएसपी खड्काले बताउनुभयो ।
रसुवा उत्तरगया गाउँपालिका ५ बनुवा घुम्तीस्थित पासाङ ल्हामु राजमार्ग बगाएपछि सवारी आवागमन ठप्प भएको छ ।