काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको नेपाली गजल, टिकटक र युट्युब भिडियो प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार गजल प्रतियोगितामा डोटीका समीर ओझा प्रथम, खोटाङका विक्रम चेतनशील राई द्वितीय, कास्कीका संयोग बस्याल तृतीय र झापाकी सरु आचार्यले सान्त्वना स्थान प्राप्त गर्नुभएको छ ।
यसैगरी युट्युव भिडियो प्रतियोगितामा कास्कीका अभ्यासराज चालिसे प्रथम, सुनसरीका तीर्थराज विश्वकर्मा द्वितीय, सुर्खेतकी प्रिशिला गिरी तृतीय र कपिलवस्तुका खुमबहादुर सुनारले सान्त्वना स्थान हासिल गर्नुभएको छ । यस्तै टिकटक प्रतियोगितामा काठमाडौंकी काजोल कार्की प्रथम, नवलपरासीका आश्विन परियार द्वितीय, दाङकी मनिषा परियार तृतीय र इलामका विनोद लोहारले सान्त्वना स्थान हासिल गर्नुभएको छ ।
सबै प्रतियोगितामा प्रथम हुनेलाई चालीस हजार, द्वितीय हुनेलाई ३० हजार, तृतीय हुनेलाई २० हजार र सान्त्वना स्थान हासिल गर्नेलाई १० हजार नगद पुरस्कार प्रदान गरिने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
सप्ताहव्यापी कार्यक्रमका साथ अन्तर्राष्ट्रिय युवा दिवस मनाएको परिषद्ले विदेशबाट फर्किएका युवासँग उद्यम परिसंवाद, नवउद्यमी युवालाई अभिमुखीकरण, कर्णाली युवा संवाद, सरसफाईलगायतका विविध कार्यक्रम आयोजना गरेको छ।
अगस्ट १२ गते अन्तर्राष्ट्रिय युवा दिवसको दिन तदअनुसार साउन २७ गते राष्ट्रियसभा गृहमा आयोजना हुने मूल समारोहमा विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र दिइनेछ । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति रहने परिषद्ले जनाएको छ ।