काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरुको साझा संस्था ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)को नयाँ नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।
यही साउन ३० गते सोमबार टानको नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा पर्यटन व्यवसायी रामप्रसाद सापकोटा 'कमल', निलहरि बाँस्तोला र बोधराज भण्डारीले प्यानलसहित उम्मेदवारी दिनुभएको छ । तीनवटै प्यानलले आआफ्नै समूहले जित्ने दाबी गरेका छन् । निर्वाचनको समय नजिकिदै गर्दा रामप्रसाद सापकोटा ‘कमल’ समूहको पक्षमा माहोल बन्दै गएको दाबी गरिएको छ । नेकपा माओवादी केन्द्र निकट सापकोटालाई नेकपा एमाले समर्थित एक खेमा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, बाबुराम भट्टराई र महिन्द्रराय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी तथा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका एक तप्काले समेत साथ दिएका छन् ।
त्यस्तै पूर्वपर्यटनराज्यमन्त्री तथा टानकी पूर्वअध्यक्ष यांकिला शेर्पा, टानका पूर्वअध्यक्षहरु जेवी सिंह, नवराज दाहाल, फुर ग्याल्जेन शेर्पा, सुमन पाण्डे, सीताराम सापकोटा, यती समूहका अध्यक्ष लाक्पा शेर्पा, नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पा, नेपाल पर्वतारोहण संघका निर्वतमान अध्यक्ष सन्तवीर लामा, पर्वतीय प्रशिक्षण प्रष्ठिानकी पूर्वअध्यक्ष लाक्पा फुटी शेर्पा, टानका पूर्ववरिष्ठ उपाध्यक्ष टासी लाक्पा शेर्पा, पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्यहरु राजेन्द्र सापकोटा, पम्फा धमला, गणेश सिंखडालगायतले सापकोटाको प्यानलको जितका लागि संयुक्त अपिल समेत जारी गर्नुभएको छ ।
अपिलमा भनिएको छ, ‘राज्य र सरकारका निकायहरुसँग समन्वयकारी भूमिका निर्वाह गरी टानलाई परिस्कृत र व्यवस्थित बनाउनु हामी सबै व्यवसायीहरुको दायित्व हो । हामीले जस्तो नेतृत्व चयन गर्न सक्यौँ हाम्रो संस्था पनि त्यस्तै हुनेछ । तसर्थ वर्तमान समसायिक परिवेशलाई दृष्टिगत गरी यस संस्थाको ४४ औं साधारणसभाले रामप्रसाद सापकोटा कमलको नेतृत्वमा रहेको व्यवसायिक र समावेशी समूहले टानको नेतृत्व लिन सक्ने ठहर गरी उक्त समूहलाई सबै मतदाता सदस्यहरुलले अत्याधिक मत जाहेर गरी यस संस्थाको जीवनमा महत्वपूर्ण परिवर्तन ल्याउन महत्वपूर्ण निवर्णय लिन सम्बन्ध सबैमा अनुरोध र अपिल गर्दछौं ।’
अध्यक्षका प्रत्यासी कमल सापकोटाले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)लाई प्रभावकारी बनाउन नेपाल पर्यटन बोर्डसँगको साझेदारितालाई फराकिलो बनाएर अघि बढ्ने योजना रहेको बताउनुभयो । उहाँले बोर्डलगायत तीनवटै तहका सरकारसँग सहकार्य गरेर पर्वतीय पर्यटनको विकासमा जुट्ने विश्वास व्यक्त गर्नुभयो ।
कांग्रेस निकट अध्यक्षका अर्का उम्मेदवार बास्तोलाको प्यानललाई नेकपा एकीकृत समाजवादी र नेकपा एमाले निकट विभाजित पर्यटन व्यवसायीहरुको समर्थन रहेको छ । अध्यक्षका प्रत्यासी निलहरि बाँस्तोलाले अग्रजले देखाएको बाटोलाई आत्मसाथ गर्दै टानलाई अन्तर्राष्ट्रिय ‘ब्राण्डिङ’ गर्न आफू प्रतिबद्धताका साथ लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, 'टानलाई व्यवसायीको हितमा समयसापेक्ष अघि बढाउन हामी प्रतिबद्धताका साथ दुई वर्ष काम गर्न चाहन्छौँ, टानलाई इन्टरनेश्नल ब्राण्डिङ गर्न सम्पूर्ण समय खर्चने छौँ, त्यसैले निर्वाचनमा आफ्नो समूहलाई विजयी बनाउन अनुरोध गर्दछु ।'
पूर्वपर्यटन राज्यमन्त्री याङ्किला शेर्पाले टानको साखलाई उचो बनाउन सक्षम र अब्बल नेतृत्व अपरिहार्य रहेको बताउनुभयो । वरिष्ठ पर्यटन व्यवसायी बिक्रम पाँडेकाजीले टानमा युवा ‘भिजनरी’ समूहलाई नेतृत्वमा लैजान व्यवसायीले सचेत भएर मतदान गर्नुपर्ने बताउनुभयो । टानका अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन पुनरुत्थानको कामलाई प्रभावकारी बनाउनुपर्छ भन्नुभयो ।
नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष रमेश थापाले सरकार तथा निजी क्षेत्रको साझेदारितामा पर्यटन प्रवर्द्धनका कामलाई गति दिन व्यावसायिक नेतृत्व जरुरी भएको उल्लेख गर्नुभयो । टानका पूर्वअध्यक्ष दीपक महतले टानलाई व्यवसायीको साझा संस्थाका रूपमा स्थापित गर्न जरुरी रहेको बताउनुभयो ।
टानका पूर्वअध्यक्ष रमेश धमलाले पर्वतीय पर्यटन व्यवसायभित्रका समस्यालाई निराकरण गर्दै व्यवसायमैत्री बताउन जरुरी छ भन्नुभयो । पर्यटन व्यवसायी कुमार थापाले व्यवसायीको भावनाअनुरुपको नेतृत्व विकासका लागि टानलाई सक्रिय बनाइनुपर्ने धारणा राख्नुभयो ।
एमाले निकट व्यवसायी विभाजित
आसन्न टानको निवार्चनको विषयलाई लिएर एमाले निकट पर्यटन व्यवसायी संगठन विभाजित भएको छ । संगठनका अध्यक्ष पूर्ण कुँवरलगायतका केही व्यवसयीले निलहरि बास्तोला समूहलाई समर्थन गर्ने भएपछि उपाध्यक्ष राजेन्द्र सापकोटासहित बहुमत समूह विद्रोह गरी रामप्रसाद सापकोटाको समूहमा समावेश भएको हो । माओवादी निकट रहेका सापकोटा समूहले एमाले निकट व्यवसायी नरध्वज तामाङलाई महासचिवको उम्मेदवार बनाई संयुक्त समावेशी प्यानल खडा गरेको छ ।
टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ निर्वाचित र बाँकी सदस्य मनोनित गरिनेछ । एक हजार आठ सय व्यवसायी आबद्ध टानमा निर्वाचनका लागि एक हजार दुई सय ५० मतदाता छन् ।