काठमाडौं । नेपालको दलित समुदायका केही व्यक्तिहरुको अपमानजनक नामबाट नागरिकता जारी भएको भन्दै चौतर्फी आवाज उठिरहेका बेला आदिवासी जनजाति समुदाय तामाङ, शेर्पाहरुको पनि त्यस्तै प्रकृतिको अनर्थ र अपमानित हुने खालका नाम कायम भएको तथ्य फेला परेको छ ।
नागरिक (मतदाता) निरक्षर, लिपिको ज्ञान नहुँदा र सरकारी कर्मचारीको लापरबाहीका कारण तामाङ, शेर्पालगायतको पनि अपमानजनक नाम रहन गएको निर्वाचन आयोगको मतदाता नामावलीमा बग्रेल्तीले देखाएको छ । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ घ्याङफेदी क्षेत्रका मतदाता नामावली केलाउँदा कामी, सार्की, गौतम, दमाई तामाङदेखि प्लेक्तेङ, लोक्टे, कितिरी, गोग्दे, रेक्पा, मुही तामाङजस्ता फेला परेका छन् ।
दलित समुदायका मानिसको कुकुर, फ्याउरे, सिँगानेजस्ता अपमानजनक नाम राखेर नागरिकता दिएको भन्दै सञ्चारमाध्यम र संघीय संसद्मा समेत आवाज उठेपछि गृह मन्त्रालयले त्यस्ता शब्द प्रयोग गरी नागरिकता जारी नगर्ने र सच्याउन चाहनेलाई मौका दिन सोमबार निर्देशन जारी गरेको छ । 'अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्ने,' विज्ञप्तिमा छ, 'त्यसरी अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने ।'
तामाङ, शेर्पालगायत जातीय समुदायको पनि नाम नभएर दुवै जात 'कामी तामाङ', 'दमाई तामाङ' लेखिएर असुहाउँदो किसिमले नागरिकता जारी भएको छ । कुनै जातलाई 'नाम' त मानेको छ नै कुनै व्यक्तिको स्वभावजन्य, शारीरिक बनावट र घरगाउँमा चलनचल्तीमा बोलाइने नामलाई नै नागरिकतामा कायम गरिएको पनि देखिन्छ । केही तामाङको 'प्लेक्तेङ' नाम राखिएको छ । यो शब्द नेपालीकरण गर्दा पातली हुन्छ ।
यस्तै 'लोक्टे' तामाङ । 'लोक्टे' शब्दलाई नेपालीकरण गर्दा मोटो र फूर्तिलो नभएको बुझाउँछ । त्यस्तै 'कितिरी' भनेको हलक्क नबढेकी महिला भनेर बुझिन्छ । 'रेक्पा' भनेको नेपालीमा दुब्लो । 'मुही' नेपालीकरण गर्दा भैंसी वा चाँदी पनि जनाउँदछ ।
यी त उदाहरणमात्रै हुन् । दुरदराजका आफ्ना नाम नेपाली भाषामा शुद्ध उच्चारण गर्न नजान्ने, लिपिमा ज्ञान नभएका तामाङ, शेर्पा, गुरुङलगायतको नाम नामजस्तो नभएर हेपिएका, होच्याइएका, घृणा गरेका र स्वयं व्यक्तिलाई आफ्नो परिचय दिनसमेत असजिलो हुने गरेको भुक्तभोगीहरु बताउँछन् । यस्ता अस्वाभाविक नाम भएका लाखौं नागरिक रहेको सहजै अनुमान गर्न सकिन्छ । यस्ता समस्या नागरिकता वाहकलाई लिपिमा ज्ञान नहुँदा र कर्मचारीको लापरबाही भएको विज्ञहरुको बुझाइ छ ।
राष्ट्रिय भाषा आयोगका नवनियुक्त सदस्य अमृत योञ्जन-तामाङ नागरिकले लिपि नजान्दा र सरकारका जिम्मेवार मान्छेले ध्यान नदिने प्रवृत्तिले यस्तो समस्या देखिएको बताउनुहुन्छ ।
आयोग सदस्य एवं भाषाविद् तामाङ भाषाको विषयमा अपमान, नामबाट हुने अपमानका लागि दोषीलाई कारबाही गर्ने ऐन आवश्यक रहेको औंल्याउनुहुन्छ । 'सांसद नविना लामाले संसद्मा बोल्दा उहाँमाथि धेरै ठाउँबाट अमानित गर्ने काम भयो । त्यसो गर्नेलाई कारबाही गर्नलाई त भाषा ऐन चाहियो नि ! त्यस्तै नामबाट अपमानित भएमा अहिले उजुरी दिनेबाहेक उपाय छैन । त्यसकारण गलत गर्नेलाई कारबाही गर्न नाम ऐन चाहिन्छ,' उहाँको भनाइ छ ।
नेपालको संविधानको भाग ३ को मौलिक हक र कर्तव्यअन्तर्गत, धारा १६ (१) मा प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुने उल्लेख रहेको छ । आयोग सदस्य तामाङले विद्यालयमा बच्चाहरुको नाम हिन्दुकरण गराउन शिक्षकहरुले भूमिका खेल्ने र विशेषगरी तामाङलगायत आदिवासी समुदायको घरमा लामा, झाँक्रीले तिब्बतीय ढाँचामा नाम राख्ने प्रचलनले पनि समस्या देखिएको धारणा राख्नभयो ।
कुनै घरमा सन्तानको मृत्यु भइरहने अवस्था आएमा जति 'नराम्रो' नाम राख्यो सन्तान बच्छ भन्ने सामाजिक मूल्यमान्यताले पनि कामी, दमाई, सार्की, पोडेजस्ता नाम रहन गएको उहाँको बुझाइ छ । 'कामी, दमाई, सार्कीजस्ता नाम राखिनु स्वाभाविक छ । किनकि कुनै समुदायले सन्तान मर्दै गयो भने जति नराम्रो नाम नयाँ सन्तानको राख्यो भने सन्तान जोखिन्छ भनेर त्यस्ता नाम राखिएका हुन्छन्,' उहाँले भन्नुभयो, 'त्यस्ता बोलीचालीको नाम लिखितमा नआइदिए हुने हो तर त्यस्तै आइरहेको छ । लिखितम्मा त प्रतिष्ठा र पहिचानको नाम हुनुपर्ने हो ।'
'संविधानको धारा ३९ मा 'प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामाकरण र जन्मदर्ताको हक हुनेछ,' भनेर लेखिएको छ ।