सुर्खेत , राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले सङ्घीयताविरुद्ध योजनाबद्ध ढङ्गले प्रहार भइरहेकाले प्रदेश र स्थानीय तहले उत्कृष्ट काम गरेर देखाउनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिद्वारा आज सुर्खेतमा आयोजित ‘सङ्घीय शासन प्रणाली सबलीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सङ्घीयता पक्षधरहरुले व्यवहारमा राम्रो काम गर्न सकेमात्र विरोधी आवाज मत्थर हुँदै जाने बताउनुभयो ।
सङ्घीयता ठीक छ भन्ने कुरा व्यवहारमा काम गरेर देखाउन आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “सङ्घीयता चाहिँदैन भन्नेहरुको मुख बन्द गर्नका लागि पनि उत्कृष्ट काम गरेर देखाउनैपर्छ ।” अध्यक्ष तिमिल्सेनाले जनतालाई सुशासन, सेवा प्रवाहमा सहजता, विकास र समृद्धिको मार्गमा अघि बढ्न सकिएमा नै सङ्घीय व्यवस्था सफल हुने विचार व्यक्त गर्नुभयो । सङ्घीयताको जग स्थानीय तह भएकाले त्यसलाई बलियो बनाउनुपर्ने उहाँको भनाइ थियो ।
“जग बलियो नहुँदासम्म घर बलियो हुँदैन, सङ्घीयताको जग स्थानीय तह हो”, उहाँले भन्नुभयो, “स्थानीय तहलाई बलियो बनाउँदा देश बलियो बन्छ ।” अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनहादुर शाहीले सङ्घीयता भनेकै प्रदेश तह भएको बताउनुभयो ।
“हिजोको एकात्मक व्यवस्थामा पनि सङ्घ (केन्द्र) र स्थानीय तह थिए”, उहाँले भन्नुभयो, “प्रदेशलाई बलियो नबनाउँदासम्म सङ्घीयता बलियो हुँदैन ।” उहाँले अहिलेको मुख्यमन्त्रीभन्दा त्यो बेलाको जिल्ला विकास समितिको सभापति धेरै शक्तिशाली भएको टिप्पणी गर्नुभयो ।
मुख्यमन्त्री शाहीले भन्नुभयो, “सङ्घीयतामा जाने तर प्रदेशलाई अधिकार नदिइँदा समस्या भएको छ, संविधानमा लेखिएका अधिकारका कुराहरु पनि कार्यान्वयन गर्न पाएका छैनौँ, प्रदेशलाई अधिकार दिन नखोजिएको हो भने यसलाई अहिले नै खारेज गर्दा हुन्छ ।” कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्रीहरु, सचिवहरु, प्रदेशसभा पदाधिकारी तथा सदस्यहरु, विभिन्न स्थानीय तहका प्रमुख÷उपप्रमुख, राजनीतिक दल, नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।