काठमाडौं । २८औं तामाङ प्रसारण दिवसको अवसरमा दुई जना तामाङ पत्रकारलाई सम्मान गरिएको छ । तामाङ पत्रकार संघले काठमाडौंको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा एक समारोह आयोजना गरी बुधबार पत्रकार सञ्चकुमारी तामाङ ब्लोन (ललितपुर) र पत्रकार ईश्वर तामाङ (उदयपुर) लाई 'तामाङ मिडिया अवार्ड २०७९' प्रदान गरेको हो । प्रमाणपत्र, नगद राशिसहितको पुरस्कार कार्यक्रमका प्रमुख अतिथि वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले पत्रकारद्वय ब्लोन र तामाङलाई हस्तान्तरण गर्नुभयो ।
लामो समयदेखि सञ्चारक्षेत्रमा सहभागी ब्लोन रेडियो थाहा सञ्चारमा समाचार सम्पादक र तामाङ राजधानी दैनिक लगायतका संचारमाध्यममा क्रियाशील हुनुहुन्छ ।
सम्मान प्रदान गर्नुअघि तामाङ मिडिया अवार्ड छनोट समितिका संयोजक एवं तामाङ पत्रकार संघका सल्लाहकार जगतमान दोङले पुरस्कृत हुने व्यक्तिहरुको छनोट मापदण्डबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा भाषा आयोगका सदस्य अमृत योञ्जन तामाङ, नेपाल तामाङ घेन्दुङ सहअध्यक्ष कुमारसिंह घिसिङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का उपाध्यक्ष अमरध्वज लामा, तामाङ समाज उत्तर अमेरिकाका तत्कालीन अध्यक्ष लक्यान लामालगायत विभिन्न दल र संघसंस्थामा आबद्ध व्यक्तिहरुको उपस्थिति रहेको छ । सहभागी वक्ताहरुले पुरस्कृत व्यक्तिहरुलाई बधाई शुभकामना दिनुका साथै तामाङ पत्रकारहरुको अवस्था र आगामी कदमबारे धारणा राख्नुभएको छ ।
अध्यक्ष सुवास योञ्जन तामाङको अध्यक्षमा आयोजित कार्यक्रम महासचिव तीर्थमान बलले सञ्चालन गर्नुभएको छ ।
तामाङ समुदायबाट पत्रकारिता गर्दै आएका पत्रकारहरु र तामाङ सञ्चारमाध्यममा आबद्धहरुले रेडियो नेपालबाट २०५१ भदौ १ गते अपराह्न ४ बजेपछि ५ मिनेट तामाङ भाषामा समाचार प्रसारण भएको दिनलाई तामाङ प्रसारण दिवसको रूपमा मनाउने गरेका छन् ।