काठमाडौं । नेपाल तामाङ पत्रकार संघले २८ औं तामाङ प्रसारण दिवस मनाएको छ । संघले बुधबार काठमाडौंमा एक कार्यक्रम गरी 'तामाङ मिडिया अवार्ड २०७९' वितरणसहित प्रसारण दिवस मनाएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै स्वास्थ्यमन्त्री प्रमुख अथिति वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले जनजाती आन्दोनलको उपलब्धि भए पनि अझै धेरै विषयवस्तुलाई राज्यले सम्बोधन गर्न बाँकी रहेको बताउनुभयो । उहाँले केही वर्षअघि गरिएको जनजाती आन्दोलनका मुद्दाहरु अहिले विस्तारै सम्बोधन हुँदै गएको उल्लेख गर्नुहुँदै वाग्मती प्रदेशम तामाङ र नेवारी भाषालाई सरकारी कामकाजको भाषा बनाउने आगामी संसद् अधिवेशनमा पहल गरिने बताउनुभयो ।
उहाँले अहिले वाग्मती प्रदेशमा जनजाती समुदायका व्यक्तिहरु मन्त्री बन्न पाउनु पनि आन्दोलनको उपलब्धि भएको स्मरण गराउनु भयो । ‘जनजातीको आन्दोलन निकै सुन्दर र शान्त तरिकाबाट भएको थियो, न हामीले कुनै तोडफोड नै गरियो न कुनै क्षति नै, हामीले त आफ्नो भेषभुषा, बाजागाजाका साथ सरकारलाई झकझक्याई रह्यौं जुन कुरा देखेर नेपालमा घुम्न आउने विदेशीहरुले पनि कति सुन्दर आन्दोलन भनेर बयान गरेका थिए,' उहाँले भन्नुभयो, 'त्यो आन्दोलनका उपलब्धिहरु बिस्तारै पूरा हुँदैछन् । ’
कार्यक्रममा भाषा आयोगका सदस्य अमृत योन्जन तामाङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा, नेपाल तामाङ घेदुङका सहअध्यक्ष कुमारसिं घिसिङ, नेपाल आदिवासी जनजाती पत्रकार महासंघका उपाध्यक्ष अमरध्वज लामा, महासचिव मिलन लिम्बु, प्रेस चौतारी नेपालका महासचिव हिरा तामाङ, प्रेस युनियन नेपालका सचिव लालकुमार मोक्तान, प्रेस सेन्टर नेपालका केन्द्रीय सहकोषाध्यक्ष बुद्ध लोप्चनले समुदायको हकहितको सवालमा संचार क्षेत्रमार्फत लाग्नुपर्ने बताउनुभएको थियो ।
कोरोना महामारीका कारण दुई वर्षपछि सार्वजनिकरुपमा कार्यक्रम आयोजना गरिएको हो । संघको शाखा अहिले २६ जिल्लामा शाखा स्थापना भएको छ भने विदेशमा पनि शाखा विस्तार भएका छन् । दिवसका अवसरमा पत्रकारहरु सन्चकुमारी तामाङ (ललितपुर) र ईश्वर तामाङ (उदयपुर) लाई पाँचर/पाँच हजार नगदका साथै सम्मानपत्रद्वारा तामाङ मिडिया अवार्ड प्रदान गरिएको छ । अध्यक्ष सुवास योन्जनको अध्यक्षतामा भएको कार्यक्रम महासचिव तिर्थ बलले संचालन गर्नुभएको थियो । कार्यक्रममा तामाङ समुदायको विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।
तामाङ समुदायबाट पत्रकारिता गर्दै आउनुभएका पत्रकारहरु र तामाङ सञ्चारमाध्यममा आबद्धहरुले रेडियो नेपालबाट २०५१ भदौ १ गते अपराह्न ४ बजेपछि ५ मिनेट तामाङ भाषामा समाचार प्रसारण भएको दिनलाई दिवसको रूपमा मनाउने गरेका छन् । दिवसको अवसरमा प्रदेश तथा विभिन्न जिल्लाले पनि कार्यक्रमहरु आयोजना गरेका थिए ।