काठमाडौं । पार्टी र सरकारमा समेत सभापति शेरबहादुर देउवाले एकाधिकार लादेको भन्दै कांग्रेसको संस्थापनइतर समूहले खबरदारीसभा आयोजना गरेको छ । शेखर कोइराला समूहको रुपमा चिनिने भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल र नेपाल महिला संघले बुधबार राष्ट्रिय सभागृहमा देउवाको एकाधिकारविरुद्ध खबरदारीसभा आयोजना गरेका हुन् ।
सभामा कोइराला भने सहभागी नहुनुभएपछि प्रमुख अतिथिमा पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी हुनुहुन्थ्यो । यस्तै खबरदारीसभामा केन्द्रीय सदस्यहरू मधु आचार्य, सरिता प्रसाईं, किरण यादव, प्रतिमा गौतम, दिनेश कोइराला, सभासद जगदीशश्वरनरसिंह केसीलगायतको सहभागिता थियो ।
यस्तै, १४ औं महाधिवेशनमा पार्टीको प्रदेश कार्यसमिति सभापतिका उम्मेदवारसँगै नेविसंघ, तरुण दलका पूर्वअध्यक्ष, नेता–कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो । नुवाकोट कांग्रेसका निवर्तमान सभापति तथ वाग्मती प्रदेश कार्यसमितिको सभापति पदका उम्मेदवार जगदीश्वरनरसिंह केसीले समूहका नेता डा. कोइरालाकै सल्लाहमा खबरदारीसभा गरिएको प्रतिक्रिया दिनुभएको छ ।
उहाँले पार्टीमा देखिएको मनपरी र १४ औं महाधिवेशनमा मत नदिएका नेतालाई आसन्न निर्वाचनमा टिकट नदिने षडयन्त्रविरुद्ध खबरदारी सभा आयोजना गरिएको पनि बताउनुभयो । खबरदारीसभा संयोजन तरुण दलका नेता निराजन थापा र विद्यार्थी नेता विजय ढुंगानाले गर्नुभएको थियो ।
प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा एकलौटी तरिकाले चलेको भन्दै इतर समूहले पार्टीमा न्यायोचित सहभागिताका लागि भन्दै छुट्टै भेला, बैठक र सार्वजनिक कार्यक्रमसमेत गर्दै आएका छन् ।