त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाँउपालिकामा बाढी र पहिरोबाट घर जोखिममा परेकाहरुलाई अस्थायी आवासका लागि टेन्टलगायत सामग्री वितरण गरिएको छ ।
केही समयदेखि जारी अविरल वर्षासँगै आएको बाढी पहिरोले घरमा क्षति पुर्याएको २९ परिवारका लागि टेन्ट, त्रिपाल, कम्बल तथा खानेपानीका लागि पाइप वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी क्षति पुर्याएको र जोखिममा रहेका वडा नम्बर २, ३ र ४ मा पहिलो चरणमा आवश्यक सामग्री वितरण गरिएको हो ।
जिल्ला विपद व्यवस्थापन समिति, खानेपानी डिभिजन कार्यालय र नेपाल रेडक्रस सोसाइटी नुवाकोटबाट प्राप्त २९ थान त्रिपाल, २९ थान कम्बल, चार हजार मिटर खानेपानीको पाइप र २९ थान हाईजिन किट जोखिममा परेका २९ परिवारलाई वितरण गरिएको गाउँपालिकाले जनाएको छ
सामग्री वितरणका लागि जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रमसिं ठकुरी, सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्याल, गाउँपालिका अध्यक्ष शंकरबहादुर थापा, उपाध्यक्ष माकुरी तामाङ, सुरक्षा निकायका प्रतिनिधि प्रभावित क्षेत्रमा पुग्नुभएको थियो । प्रभावित क्षेत्रका वडाध्यक्षहरुको उपस्थितिमा वडाले पहिचान गरेका जोखिममा रहेका घरपरिवारलाई उक्त राहत समाग्री वितरण गरिएको हो ।
बुधबार संघीय सांसद हितबहादुर तामाङ र वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले प्रभावित क्षेत्रको निरीक्षण गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनुभएको थियो । विषयगत कार्यालयहरु सडक पूर्वाधार विकास, जलस्रोत तथा खानेपानी, कृषि ज्ञानकेन्द्र, भेटेनरी तथा पशुविज्ञ केन्द्रका प्रमुख तथा प्रतिनिधिहरुसहित बाढी पहिरोले पुर्याएको क्षतिको निरीक्षण गर्न तामाङद्वय दुप्चेश्वर गाउँपालिकाको समुन्द्रटारदेखि राउतबेंसीको झघरेसम्म पुग्नुभएको थियो । उहाँलहरुले यथासक्य छिटो वास्तविक क्षतिको विवरण संकलन गरी उचित व्यवस्थापनका लागि निर्देशन दिनुभएको थियो ।